बैंकिङ खबर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले सक्षम परियोजनासँगको सहकार्यमा आफ्नो इलाका कार्यालय बुटवलका अन्र्तगत रहेका ११ वटा कार्यालयका २६ जना कर्मचारीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरेको छ । भदौ ११ र १२ गते संचालन गरिएको दोस्रो चरणको तालिममा इलाका कार्यालय बुटवलका नि. इलाका प्रबन्धक दिपक पोख्रेल र इलाका कार्यालय शंशेरगंजका नि.इलाका प्रबन्धक सम्भु घिसिङ्गले प्रशिक्षण दिएका थिए ।
वित्तीय साक्षरता कार्यक्रम संचालन गर्नका लागि प्रशिक्षक तयार गर्ने उद्देश्यले उक्त तालिम प्रदान गरिएको हो । यस तालिकको माध्यमबाट तीन बर्षमा ३३ हजार जना सदस्यलाई वित्तीय साक्षरता तालिम पुर्याउने र तीन हजार तीन सय जना सदस्यलाई उद्यमी बनाउने लक्ष्य लिइएको छ ।
प्रत्येक सदस्यसम्मको घरदैलोमा पुगि ग्रामिण क्षेत्रका सदस्यहरु तथा महिला दिदि बहिनीहरुलाई वित्तीय साक्षरता कार्यक्रमसंगै महिला उद्यमशिलता विकास गर्न, स्वरोजगार सिर्जना गर्न, कर्जा सदुपयोग गर्न सिकाउन, परियोजना संचालनका लागि आवश्यक तयारी गर्न सिकाउन, पारिवारिक बजेटको महत्व बुझाउन, फलुक खर्च नियन्त्रण गरी बचत बढाउन, बीमाको महत्व बुझाउन, विनिमय दर घटबट हुँदाको प्रभावका विषयमा स्पष्ट पार्न लगायतका लागि कर्मचारीलाई तयार गर्ने उद्देश्यले उक्त तालिम दिइएको हो ।