Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘राष्ट्र बैँकले विकास बैँकहरुलाई खुलेर कारोबार गर्न दिएन’

२०७३ जेष्ठ ७ गते

krishna rajडेभलपमेन्ट बैँकर्स एसोसिएसनका अध्यक्ष कृष्णराज लामिछानेले नेपाल राष्ट्र बैँकले बैँकहरुलाई खुलेर कारोबार गर्न नदिएको बताएका छन् । शुक्रबार गरिमा विकास बैँकको सामाखुसी शाखाको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष लामिछानेले नेपाल राष्ट्र बैंकले विकास बैंकहरुलाई सक्षम बन, क्षमता बढाउ, ठुलो बन अनि जोखिम वहन क्षमता बढाउ भने पनि खुलेर कारोबार गर्न नदिएको तर्फ राष्ट्र बैंकको ध्यानाकर्षण गराएका हुन् । उनले २ अर्बको पूँजी भएका अहिलेका वाणिज्य बैंकले गर्ने काम २ अर्ब ५० करोड पूँजी हुने विकास बैंकले किन गर्न नपाउने भन्दै विकास बैंकलाई सरकारी निर्माण ठेक्काको ग्यारेण्टी जारी गर्न पाउने व्यवस्था, एलसी कारोबार र रेमिट्यान्स कारोबार गर्न दिइनु पर्ने माग समेत गरे । साथै, उनले ग्रामिण क्षेत्रबाट राजधानीमा शाखा खालेर ग्रामिण क्षेत्रमा गरिमा विकास बैंकले उदाहरणीय काम गरेको समेत जिकिर गरे । 

कार्यक्रममा बोल्दै गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले गरिमा विकास बैंकलाई विकास बैंकमा सबैभन्दा उत्कृष्ट बैंक बनाउन आफुहरु लागि परेको बताए । ‘निलगिरी विकास बैंकसँग मर्जर पुरा गरि सुभेच्छा विकास बैंकसंग मर्जरको प्रकृया रहेको बैंकलाई मर्जरबाटै विकास बैंकहरुमा उत्कृष्ट बैंक बनाउँछौं ।’ प्रमुख कार्यकारी अधिकृत ढकालले भने । 

यसै क्रममा गरिमा विकास बैंकको शाखा सञ्जाल स्याङ्जामा ५ शाखा, कास्कीमा ४, पाल्पा, रुपन्देही र बागलुङमा २⁄२ वटा शाखा सञ्चालनमा रहेका छन् । त्यसै गरि म्याग्दीमा ४, बर्दघाट शाखा सञ्चालनमा आए पछि नवलपरासीमा ३ शाखा, पर्वतमा ३ र कपिलवस्तु, तनहु र काठमाण्डौंमा एक एक शाखा गरि कुल शाखा संख्या २८ पुग्नेछ । अहिले ५ वटा एटीएम काउण्टर सञ्चालनमा रहेको बैंकले आफ्नो मुख्य कार्यालय काठमाण्डौंको नक्सालमा स्थानान्तरणका लागि नेपाल राष्ट्रबैंकबाट स्वीकृति पाईसकेको छ । २०६४ साल अशोज २४ गते ३ जिल्लामा वित्तीय सेवाका लागि नेपाल राष्ट्र बैंकबाट इजाजत पाएको यस बैंकले ८ वर्षको अवधिमा आफुलाई राष्ट्रियस्तरको विकास बैंकमा स्थापित गराउन सफल भएको थियो । 

२२ करोड ७३ लाख रुपैंया चुक्ता पूँजी भएको सुभेक्षा विकास बैंकसंग गत बैशाख ८ गते मर्जर सम्झौता गरेको गरिमा विकास बैंकको हाल ८५ करोड ३२ लाख रुपैंया चुक्ता पूँजी रहेको छ । यसै आर्थिक वर्ष भित्रमा मर्जर पुरा गराउने लक्ष्य सहित काम भैरहेको र मर्जर पुरा भए पछि बैंकको चुक्ता पूँजी १ अर्ब ८ करोड रुपैयाँ पुग्नेछ । २०७४ असार मसान्तसम्ममा बैंकले २ अर्ब ५० करोड रुपैंया चुक्ता पूँजी पुर्याउनु पर्ने राष्ट्र बैंकको व्यवस्था अनुरुप पूँजी बिस्तार गर्दै बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तको अवधिमा बैंकले ७ अर्ब ८४ करोड ४९ लाख ५३ हजार रुपैंया निक्षेप संकलन, ७ अर्ब १६ करोड ८२ लाख ७८ हजार रुपैंया कर्जा प्रवाह गरेको छ भने उक्त अवधिमा बैंकले १४ करोड ६६ लाख ४७ हजार रुपैंया खुद नाफा गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा ९ करोड ९८ लाख ९ हजार रुपैंया मात्र थियो । अहिले बैंकको जगेडा कोषमा २७ करोड २६ लाख १० हजार रुपैंया सञ्चित रहेको छ । मर्जरका कारण शेयर कारोबार रोक्का भएको यस बैंकको निष्कृय कर्जा अनुपात शुन्य दशमलव ६२ प्रतिशत मात्र रहेको छ ।