बैंकिङ खबर । पुरानोबाट नयाँ बीमा कम्पनीमा जाँदा प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले पाउने तलबमा बीमा समितिले मापदण्ड तोकेको छ । समितिले कम्पनीका सिइओहरुको तलब भत्ता तथा अन्य सुबिधा सम्बन्धी मार्गदर्शन जारी गर्दै बीमा कम्पनीहरुले सिइओलाई दिने तलब, भत्ता तथा अन्य सुबिधालाई ४ भागमा विभाजन गर्न भनेको छ । जसमा बार्षिक तलब तथा भत्ताहरु, कार्यसम्पादनमा आधारित पारिश्रमिक, बीमा सम्बन्धी सुबिधाहरु र अन्य सुविधाहरु रहेका छन् ।
सिइओले आफ्नो सावधिक जीबन बीमा, दुर्घटना बीमा र सिइओ र उसको एकाघर परिवारको स्वास्थ्य बीमा सुबिधा समेत पाउनेछन् । साथै कार्यसम्पादनको आधारमा सिईओलाई बार्षिक तलबको ६० प्रतिशतसम्म भत्ता पाउने सक्नेछन् । सिइओलाई अन्य सुविधाहरु एक थान मोबाइल, एक थान ल्यापटप, एक लाइन इन्टरनेट, सवारी साधन वा सोको वास्तविक खर्च, नेपाल सरकारको प्रथम तह सरहको चालक खर्च, बीमकले कर्मचारलाई छुट्याएको सेयर बापतको अंश, पत्रपत्रिका खर्च र विदेश भ्रमण गर्दा टिकट र स्वास्थ्य सेवा सुविधा पनि पाउने छन् ।
पुराना बीमा कम्पनीले तीन वर्षको औषत कर्मचारी खर्चको छ प्रतिशत अथवा विगत अन्तिमको तीन वर्षकोे कुल सम्पत्तिको औषतमा ०.१ प्रतिशतदेखि ०.५ प्रतिशतसम्म खर्च गर्न पाउनेछन् । उक्त मार्गदर्शन पुस १ गतेदेखि नै कार्यान्वयनमा आएको र अब नयाँ बीमा कम्पनीका सिईओहरुको तलब सुविधा सोही अनुरुप हुनुपर्ने बीमा समितिले जनाएको छ । यो मापदण्ड लागू हुनुभन्दा पहिला नियुक्ति पाइसकेका प्रमुख कार्यकारी अधिकृतका हकमा यो नियम लागू हुने छैन । उनीहरुले अर्को नियुक्त लिँदा भने यो मापदण्ड लागू हुनेछ ।


