Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

दुर्गम गाउँमा बैंकिङ पहुँच पुर्याउँदै ‘स्पर्स लघुवित्त’, तीन महिनामा १५ शाखा विस्तार

२०७४ मंसिर १३ गते

नेपाल राष्ट्र बैंकबाट ५२औं लघुवित्त वित्तीय संस्थाको रुपमा कारोबार गर्ने अनुमति पाएको स्पर्स लघुवित्त वित्तीय संस्थाले हालसम्म पश्चिमाञ्चल क्षेत्रका १० वटा जिल्लामा १५ वटा शाखा संचालनमा ल्याएको छ । २०७४ साउन २७ गतेबाट औपचारिक कारोबार शुरु गरेको संस्थाले तीन महिनाकै अवधिमा १५ शाखा खोल्न सफल भएको हो । अनुमति पाएका १० वटा जिल्लाहरु कास्की, वाग्लुङ्ग, म्याग्दी, लमजुङ्ग, तनहुँ, नवलपरासी, पर्वत, गुल्मी, अर्घाखाँची र गोरखाका बैंकिङ्ग पहँुच नपुगेका गाउँपालिकाहरुमा केन्द्रित भई समावेशी लघुवित्त कार्यक्रम संचालन गरिरहेको प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।

जनता बैंक, टुरिजम डेभलपमेन्ट बैंक तथा विभिन्न ७५ जना व्यक्तित्वहरुबाट प्रर्वद्धन भएको यो स्पर्स लघुवित्तले पृथक तरिकाले लघुवित्त सेवालाई समावेशी बनाउँदै सबै क्षेत्रका जनताको लागि उपयुक्त हुने किसिमको कार्यक्रम ल्याउने योजना बनाएको छ । वित्तीय संस्थाले विशेष गरी युवा वर्गलाई स्वदेशमै स्वरोजगारको सृजना हुने किसिमको कार्यक्रमहरुलाई लघुवित्त कार्यक्रममा समावेश गराई आर्थिक क्रियाकलापमा सक्रिय बनाउँदै बैदेशिक रोजगारीको परनिर्भरतालाई अन्त्य गर्ने रणनीति लिइएको प्रमुख कार्यकारी अधिकृत खड्काले बताए ।

यस वित्तीय संस्थाले विभिन्न बीमा कम्पनीहरुको कर्पोरेट एजेन्ट भई सदस्यहरुको जीवन बीमा, बालीनाली तथा पशुपंक्षीहरुको बीमा, कर्जाको बीमा जस्ता कार्यक्रमहरु संचालन गरी ग्राहक सदस्यहरुको हितलाई तथा व्यापार ब्यवसायलाई सुरक्षा प्रदान गर्ने खालका कार्यक्रमहरु संचालन गर्ने योजना बनाएको छ । आफ्ना ग्राहक सदस्यहरुलाई आधुनिक प्रविधिको प्रयोग गर्न सिकाउन तथा लघुवित्तलाई प्रविधि मैत्री बनाउँदै लैजानका लागि इलेक्ट्रोनिक बैंकिङ्ग सेवाहरु जस्तैः मोबाइल बैंकिङ्ग, एबिबिस, एसएमएस नोटिफिकेशन, चेकको प्रयोग जस्ता कार्यक्रमहरु थप गर्नुका साथै दुर्गम भेगमा संचालित शाखाहरुबाट विभिन्न बैंक तथा वित्तीय संस्थाको शाखारहित बैकिङ्गको एजेन्ट भई कार्य गर्ने संस्थाको भावी योजना रहेको छ । 

स्पर्स लघुवित्तले विभिन्न रेमिट्यान्स कम्पनीहरुको सब एजेन्ट भई देश भित्र रकम पठाउन तथा पाउन र विदेशबाट पठाएको रकम भुक्तानी गर्ने व्यवस्था समेत मिलाएको छ । २०७४ कार्तिक मसान्तसम्म लघुवित्तले १५ वटा शाखा मार्फत करिब दुई हजार सदस्यहरुलाई पाँच करोड ३६ लाख रुपैयाँ लगानी गरी करिब ६० लाख बचत संकलन गरिसकेको छ ।