Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बोनस र हकप्रद जारी गर्ने प्रस्तावसहित प्रभु इन्स्योरेन्सले बोलायो साधारणसभा

२०७४ आश्विन ३० गते

प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १९.२० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको आइतबार साँझ बसेको संचालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको १९.२० प्रतिशतले हुने ११ करोड आठ लाख ८४ हजार पाँच सय ३९ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको हो । कर प्रयोजनका लागि कम्पनीले १.०१ प्रतिशत अर्थात ५८ लाख ३६  हजार २८ रुपैयाँ नगद लाभांश पनि दिनेछ । 

संचालक समितिको सोही बैठकले बोनस सेयर वितरण गरेपछि कायम चुक्तापुँजीको ४६ प्रतिशत हकप्रद सेयर पनि निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीले ३४ करोड ४२ लाख चार हजार ९० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको हो । 

बोनस सेयर र हकप्रद सेयर पारित गर्नका लागि कम्पनीले कात्तिक २१ गते साधारणसभा गर्ने भएको छ । उक्त २२ औँ वार्षिक साधारणसभा प्रयोजनका लागि कात्तिक ७ गतेदेखि बुक क्लोज गर्ने घोषणा समेत गरिएको छ । 

हाल प्रभु इन्स्योरेन्सको चुक्तापुँजी ५७ करोड ७५ लाख २३ हजार छ सय ४२ रुपैयाँ रहेको छ । बोनस सेयर र हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी एक अर्ब नाघ्नेछ ।