Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा कम्पनीहरुमा बैंककै बर्चस्व

२०७४ आश्विन २७ गते

बैंकिङ खबर । बीमा कम्पनीहरुमा बैंककै बर्चस्व देखिएको छ । बैंक र बीमाको व्यवसाय नै सँगसँगै अघि बढ्ने गरेको पाइन्छ । बैंकले बीमालाई विश्वास गर्ने भएकाले बैंककै कारण पनि मानिसहरु बीमा गर्न बाध्य हुने गरेका छन् । बैंकले कर्जा दिनका लागि बीमा गरेका व्यवसायलाई बढी विश्वास गर्दछ । गाडी तथा घर कर्जा लिनुपर्यो भनेपनि बीमा नगरी हुँदैन । यसका लागि बैंक र बीमा कम्पनीले एकअर्कासँग सम्झौता गरेर सँगसँगै व्यवसाय अघि बढाउने गरेका छन् । बैंकिङ ग्रुपकै लगानीमा पनि कतिपय बीमा कम्पनीहरु चलिरहेका छन् ।

नयाँ बीमा कम्पनीहरुमा बैंकहरुको लगानी
हालै संचालनको अनुमति पाएका बीमा कम्पनीहरु पनि बैंकिङ ग्रुपद्धारा प्रवद्र्धित छन् । आईएमई ग्रुपको प्रवद्र्धनमा आईएमई लाइफ इन्स्योरेन्सले कारोबार सुरु गरेको छ । कम्पनीको संस्थापकमा चन्द्र ढकाल विष्णु प्रसाद उपाध्याय, ग्लोबल आईएमई बैंक समूह, जीवनबाबु श्रेष्ठ रहेका छन् । कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालय लैनचौरस्थित हाथवे कम्पेलक्सको पहिल्लो तल्लामा रहेको छ । आइएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा डा. रामहरि अर्याल र महाप्रबन्धकमा राकेश पोखरेल रहेका छन् ।

त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सले पनि दशैँअघिदेखि नै व्यवसाय सुरु गरिसकेका छन् । सन नेपाल लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालय काठमाडौँको कमलादीमा रहेको छ । कम्पनीको अध्यक्षमा अनुज कायल रहेका छन् । कम्पनीमा सत्यनारायण कायल, सुशिल कुमार धुरका, पवन कुमार वंशल, प्रमोद अग्रवाल लगायतको लगानी रहेको छ ।

त्यस्तै काठमाडौँकै बानेश्वरमा केन्द्रीय कार्यालय रहेको युनियन लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुलभ अग्रवाल छन् भने प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार लाल कर्ण छन् । २ अर्ब १५ करोड रुपैयाँ जारी पुँजी रहेको कम्पनीको प्रवद्र्धकमा जगदम्बा समूह, गोल्छा समूह, गाडिया समूह, न्यौपाने समूह, टिवडेवाल समूह र राजेश हार्डवेयर समूहको लगानी रहेको छ । अध्यक्षमा सुलभ अग्रवाल रहेका छन् भने शेखर गोल्छा र सन्दीप अग्रगाल (गाडिया) सञ्चालक रहेका छन् ।

संचालनको तयारीमा रहेका जीवन बीमा कम्पनीहरु
संचालनको तयारीमा रहेका अन्य कम्पनीहरुमा पनि बैंकिङ ग्रुप तथा बैंकरहरुको लगानी रहेको छ । रिलायन्स लाइफ इन्स्योरेन्समा सिद्धार्थ बैंकको लगानी रहेको छ । तत्कालिन महालक्ष्मी फाइनान्स (हाल महालक्ष्मी बिकास बैंक) ले चार करोड ७० लाख सेयर रहने गरि महालक्ष्मी लाइफ इन्स्योरेन्समा लगानी गरेको छ ।  त्यस्तै, सानिमा बैंकले सानिमा लाइफ इन्स्योरेन्समा लगानी गरेको छ । नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सले स्टार लाइफ इन्स्योरेन्स कम्पनीमा लगानी गरेको छ । सिटिजन्स बैंक इन्टरनेशनलको लगानी रहेको सिटिजन लाइफ इन्स्योरेन्स पनि संचालनमा आउँदैछ । त्यस्तै, रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीलाई तत्कालिन रिलायबल डेभलपमेन्ट बैंकले प्रवद्र्धन गरेको छ । छिटै संचालनमा आउन लागेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा ज्योति विकास बैंकको मूख्य लगानी रहेको छ ।

निर्जिवन बीमा कम्पनीहरु पनि संचालनमा आउँदै
यसबाहेक, संचालनका लागि चार निर्जिवन बीमा कम्पनीको प्रस्ताव परेकोमा तीन वटाले प्रारम्भिक चरणको आशयपत्र पाएका छन् । यी कम्पनीहरुमा पनि बैंक तथा बैंकरहरुको लगानी रहेको छ । सानिमा इन्स्योरेन्स कम्पनीको प्रवर्द्धकमा अरुणकुमार ओझा, जुगल भुर्तेल, मोलिलाल दुगड र साम्भा लामा रहेका छन् । त्यस्तै, जनरल इन्स्योरेन्स कम्पनीको प्रवद्र्धकमा झपटबहादुर बोहोरा, राजेन्द्रदास श्रेष्ठ, उपेन्द्र पौडेल, प्रेमनिधि ज्ञवाली, राजेन्द्र लाल बज्राचार्य रहेका छन् भने अजोड इन्स्योरेन्स कम्पनीमा विनोदकुमार विष्ट, आजाद श्रेष्ठ, मीनमान श्रेष्ठ, राजेन्द्र कुमार कायस्थ, मीनबहादुर गुरुङ रहेका छन् ।