एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले फिल्डमा कार्य गर्ने नयाँ फिल्ड कर्मचारीहरुका लागि लघुवित्त कार्यक्रम संचालन सम्बन्धी ज्ञान दिलाउने उद्धेश्यले दुई दिने लघुवित्त संचालन तालिमको आयोजना गरेको छ । आइतबार पोखराको नागढुंगा स्थित होटल स्टार रबिमा प्रमुखकार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले तालिमको उद्घाटन गरे ।
तालिमको उद्घाटन गर्दै कोनाजोले नेपालको ५ वटा विकास क्षेत्रमा सरकारी तवरबाट घ वर्गको वित्तीय संस्थाको रुपमा ग्रामीण विकास बैंकको स्थापना गरी विधिवत रुपमै लघुवित्तको कार्यक्रम संचालन गर्न थालिएकोमा हालसम्म ५३ वटा घ वर्गको वित्तीय संस्था दर्ता भई संचालनमा आइसकेको जानकारी दिए । साथै अन्य बैंक तथावित्तीय संस्थाहरु, सहकारी संस्थाहरु र नेपाल राष्ट बैंकबाट वित्तीय मध्यस्तकर्ताको काम गर्ने अनुमती प्राप्त गरी २५ वटा गैर सरकारी संस्थाहरुले पनि लघुवित्त कार्यक्रम संचालन गर्दै आइरहेको उनले बताए ।
लघुवित्तको क्षेत्रमा काम गर्ने कर्मचारीहरुमा लघुवित्तको मात्र नभएर तथा अन्य विषयहरुको पनि चौतर्फी ज्ञान, सीप र दक्षता हुनुपर्ने भन्दै उनले देशमा दिनप्रतिदिन भईरहेका घटना तथा जानकारीमुलक कुराहरु, सान्दर्भिक लेख रचनाहरु लगायतका कुराहरुमा अपडेट हुन तालिममा सहभागी कर्मचारीलाई आग्रह समेत गरे। तालिम, गोष्ठी र कार्यक्रम कर्मचारीको ब्यक्तित्व विकासको महत्वपूर्ण औजार भएकाले हरेक कर्मचारीलाई समय समयमा तालिम आवश्यक रहेको उनको भनाइ थियो । हरेक कर्मचारीहरुमा सकारात्मक सोचाई हुनुपर्ने र कर्मचारीहरु ग्रामीण क्षेत्रको विपन्नवर्ग, समुदायमा काम गर्नुपर्ने भएकाले ठाउँ अनुसार सम्मानजनक ब्यवहार गर्नुपर्ने कुरामा उनले जोड दिए ।
त्यस्तै, सिईओ् कोनाजोले ग्रामीण महिलाहरुको आर्थिक, सामाजिक, सांस्कृतिक विकास भए मात्र उनीहरुको समग्र विकास हुने भएपनि आर्थिक विकास नै सबै विकासको मेरुदण्ड भएकोले यसको विकासतर्फ जोड दिनुपर्ने बताए । यसको शुरुवात सानोतिनो रकमबाटै गर्न सकिने उनले बताए । कर्जा दिएपछि रातारात धनी हुने नभएर त्यसको सही सदुपयोग गरी निरन्तर रुपमा काम गर्दै गएपश्चात विस्तारै आर्थिक अवस्था सुदृढ हुने हँुदा सो कार्यका लागि कर्मचारीहरुको योगदान महत्वपुर्ण हुने भन्दै उनले त्यसतर्फ ध्यान दिन सहभागीहरुलाई आग्रह गरे ।
कार्यक्रममा ग्रामीण महिलाहरु अनुशासित एवम् इमान्दारी हुने हुँदा उनीहरुलाई प्रदान गरिएको कर्जा नियमित रुपमा तिर्ने भएकोले सो क्षेत्रको कर्जा सुरक्षित हुने गरेको अनुभव समेत उनले प्रस्तुत गरे ।



