मुलुकको सबैभन्दा ठूलो सवारी साधनहरुको प्रदर्शनी मेला नाडा अटो शो राजधानीमा शुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा १२औँ संस्करणको अटो शोको सोमबार राजधानीको भृकुटीमण्डपमा बिशेष समाारोहकाबीच भौतिक पुर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर उद्घाटन गरे ।
प्रदर्शनीमा विश्वप्रसिद्ध ब्रान्डका सवारीसाधनका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसेसरिजलगायत वित्तीय संस्था तथा इन्स्योरेन्ससमेतको सहभागिता रहने नाडाका अध्यक्ष अञ्जन श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठका अनुसार अटो शोमा सहभागी अटो व्यवसायीले आफ्ना विभिन्न ब्रान्डका सवारीसाधन, पार्टपुर्जा तथा अन्य सेवा ग्राहकसमक्ष प्रत्यक्ष पुर्याउने छन् ।
मेलामा साना–ठूला गरी लगभग १ सय २५ वटा स्टल राखिएका छन् । ९० वटा संस्थाको सहभागिता रहेको छ । प्रदर्शनीमा १६ वटा ब्रान्डका चारपांग्रे, १९ वटा ब्रान्डका दुईपांग्रे तथा ६ वटा ब्रान्डका हेभी कमर्सियल सवारीसाधनले सहभागिता जनाएका छन् ।
प्रवेश टिकटमा बम्पर उपहारस्वरूप २३० सिसीको युम रेनेगाड कमान्डो मोटरसाइकल ग्राहकले जित्न सक्ने व्यवस्था गरिएको छ । ५० हजार आगन्तुकले अवलोकन गर्ने अपेक्षा राखिएको अटो सो मेला आगामी १८ भदौसम्म चल्नेछ ।
