प्रभु इन्स्योरेन्स लिमिटेड स्थापनाको २१ औं वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीको २२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईँले प्रभु इन्स्योरेन्सको अवस्था राम्रो रहेको तथा सबै कम्पनीहरुमध्ये अग्रणी भूमिकामा रहन सफल भएकोमा खुशी व्यक्त गरे । साथमा आगामी दिनमा थप सफलताको लागि शुभकामना समेत व्यक्त गरे ।
बीमा कम्पनीहरुको पुँजी बृद्धि सम्वन्धमा नयाँ मापदण्ड तय गरिएको स्मरण गर्दै चापागाईँले तोकिएको समयमै कम्पनीहरुले पुँजी कायम गर्न सफल हुने विश्वास व्यक्ति गरे । साथमा निर्जिबन बीमाको दायरा बृद्धि गर्नको लागि हुलदंगा तथा आतंकबादको बीमा दर परिमार्जन गरिएको जानकारी समेत गराए । आगामी दिनहरुमा बीमा कम्पनीहरुको निरिक्षण प्रभावकारी बनाउँदै लगिने उनको भनाइ थियो । बीमा क्षेत्रमा नियम, बिधि तथा कानुन अनुसार काम नगर्नेलाई कारवाही गर्न पछि नपर्ने बताउँदै उनले कम्पनीको मानव संशाधन सम्वन्धमा सुधार गर्न सुझाव समेत दिए ।
कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष कुसुम लामाले कृषि तथा बाली बीमा सम्वन्धमा सहकार्य गरि अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताइन् । बीमा समिति र बीमा कम्पनीहरुले सहकार्य गरी जनचेतनामुलक कार्यक्रम संचालन गरेर र कृषि तथा बाली बीमाको लागि पुर्वाधार बृद्धि गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कम्पनीका उपाध्यक्ष राजेन्द्र मल्लले बीमा समितिको मार्गदर्शनमा कम्पनीले सुधार गर्दै लगिएको तथा समितिको निर्देशन बमोजिम पुंजी बृद्धिको योजना पेश गरि सकिएकोले योजना अनुरुप पुंजी बृद्धि गरिने बताए । बीमा समितिको स्वीकृतीमा प्रभु इन्स्योरेन्सले शाखा विस्तार गर्दै लग्ने उनले बताए । उनले लघुबीमा कम्पनीको गठनको आवश्यकता रहेको समेत औँल्याए ।
सोहि कार्यक्रममा कम्पनीको प्रगती बिवरण प्रस्तुत गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले आफूहरु नियामक निकायको निर्देशनलाई सदैव पालना गर्दै प्रतिष्पर्धात्मक बजारमा प्रतिष्पर्धा गर्दै अघि बढ्दै गईरहेको बताए । साथमा आवश्यकता अनुसार शाखा सञ्जाल बिस्तार गरिंदै लगिने पनि उनले बताए ।
हाल यस कम्पनीको केन्द्रीय कार्यालयसहित शाखा तथा उपशाखा संख्या २३ रहेको छ ।




