July 21st, 2017

बीमा कम्पनीहरु मर्जरमा नजाने, यसरी पुर्याउने भए चुक्तापुँजी

बीमा कम्पनीहरु मर्जर तथा एक्विजिसनमा नजाने भएका छन् । चुक्तापुँजी वृद्धिका लागि बीमा कम्पनीहरुले बीमा समितिमा बुझाएको योजनाअनुसार सबै बीमा कम्पनीहरुले हकप्रद सेयर र बोनस सेयर जारी गरेर नै तोकिएको समयमा चुक्तापुँजी पुर्याउने भएका हुन् । 

समितिले २०७५ असार मसान्तसम्ममा निर्जीबन बीमा कम्पनीको चुक्ता पुँजी कम्तिमा एक अर्ब रुपैयाँ र जीबन बीमा कम्पनीहरुको चुक्ता पुँजी कम्तिमा दुई अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो । सबै कम्पनीहरुले हकप्रद सेयर र बोनस सेयर दिएर नै चुक्तापुँजी पुर्याउने योजना बुझाएको बीमा समितिले जानकारी दिएको छ ।

जीबन बीमा कम्पनीहरुमध्ये, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी तोकिए अनुसार पुगिसकेको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १८ करोड ७४ लाख र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले २९ करोड रुपैयाँको हकप्रद सेयर जारी गर्दैछन् । त्यस्तै, सूर्या लाइफ इन्स्यारेन्सले ८८ करोड ८३ लाख रुपैयाँको एफपिओ जारी गर्ने वा हकप्रद जारी गर्ने तथा बिदेशी कम्पनीसँग समन्वय गरी पुर्याउने योजना बनाएको छ । प्राइम लाइफले २०६९ सालदेखिको वासलात स्वीकृत भएपछि नाफा र सेयरधनी कोष यकिन हुने र त्यसपछि तोकिए अनुसारको चुक्ता पुँजी पर्याउने योजना समितिमा पेश गरेको छ । राष्ट्रिय बीमा संस्थान, नेशनल लाइफ इन्स्योरेन्स र मेट लाइफ (एलिको) ले भने अझैसम्म पनि पुँजीवृद्धिको योजना बुझाएका छैनन् । 

निर्जिबन बीमाहरुले पनि पुँजीवृद्धिका लागि हकप्रद र बोनसकै योजना अघि सारेका छन् । एनबी इन्स्योरेन्सले चालू आर्थिक वर्षमा नै चार करोड ८६ लाख रुपैयाँको हकप्रद जारी गर्नेछ । यस्तै एनएलजी इन्स्योरेन्सले २९ करोड ५१ लाख रुपैयाँको र नेको इन्स्यारेन्सले २३ करोड ५३ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्नेछ । बाँकी पुँजी बोनस जारी गरेर नै पुर्याउने योजना यी कम्पनीहरुको छ । निर्जिवन बीमा कम्पनीहरुमध्ये, हिमालयन जनरल र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले भने पुँजी बृद्धिको योजना समितिमा पेश गरेका छैनन् । प्रिमियम, नेपाल इन्स्योरेन्स, ओरियन्टल, नेसनल, राष्ट्रिय बीमा कम्पनी र प्रभु इन्स्योरेन्सले पुँजी बृद्धिको योजना पेश गर्ने समय थप गरिदिन समिति समक्ष अनुरोध गरेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]