July 17th, 2017

यसरी बढ्दै छ लघुबीमाको दायरा

रोयल आचार्य / नयाँ आर्थिक बर्ष २०७४÷७५ को शुरुवातसँगै निर्जीवन बीमा कम्पनीहरुले लघुबीमाको दायरा गाउँगाउँमा पुर्याउने भएका छन् । निर्जिवन बीमा कम्पनीहरुले शहरदेखि ग्रामिण भेगको दुर–दराजसम्म लघुबीमा सञ्चालन गर्ने भएका हुन् । मूलुकमा बीमाको पहुँच ज्यादै न्युन भएको बेला बीमा कम्पनीहरुले लघुवित्तहरुको सहकार्यमा गाउँ–गाउँसम्म लघुबीमा कार्यक्रम सञ्चालन गर्ने भएका हुन् । लघुवित्त वित्तीय संस्थाहरुको सहकार्यमा हुने लघुबीमा कार्यक्रम निम्न आय भएका विपन्न वर्गलाई न्यनुतम प्रिमियममा बीमा गर्ने व्यवस्था मिलाउने नेपाल बीमक संघका कार्यकारी निर्देशक द्रोण आचार्यले बताए । आचार्यका अनुसार लघुवित्तसँगको सहकार्य एवं बीमक संघको समन्वयमा देशभर लघुबीमा कार्यक्रम सञ्चालन हुनेछ ।

सक्षमः एक्सेस टू फाइनान्सले सहयोग गर्ने
नेपालका १७ वटा निर्जीवन बीमा कम्पनीहरुले लघुवित्तहरुसँगको सहकार्य एवं बीमक संघको सहकार्यमा देशभर सञ्चालन गर्ने लघुबीमा कार्यक्रमका लागि सक्षमः एक्सेस टू फाइनान्सले सहयोग गर्ने भएको छ । लघु बीमा कार्यक्रम सञ्चालनका लागि सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमको तर्फबाट आठ करोड रुपैयाँको लघुबीमा ट्रष्ट बनाएर लघुबीमा कार्यक्रम हुनेछ । पहिलो आर्थिक बर्षका लागि ट्रष्ट मेनेजरमा संघले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई छानेको छ ।

प्रिमियम र दायित्व भुक्तानीमा सबै कम्पनी
बीमा लेखमा एउटा बीमा कम्पनीले ट्रष्ट मेनेजरको रुपमा काम गरे पनि त्यस्तो बीमाबाट प्राप्त हुने प्रिमियम र आइपर्ने दायित्व भुक्तानीमा १७ वटै निर्जीवन बीमा कम्पनी सहभागी हुने संघले जनाएको छ । लघुबीमा गराएवापत कम्पनीहरुले १५ प्रतिशत कमिशन र थप १० प्रतिशत व्यवस्थापन खर्च गरी बीमाशुल्कको २५ प्रतिशत रकम प्राप्त गर्नेछन् ।

प्रभावकारी बनाउन नियामक निकायको निर्देशन
लघुबीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले निर्देशन दिइसकेको छ । सरकारले आर्थिक बर्ष २०७४÷७५ को बजेटमा समेत सबै बीमा कम्पनीहरुले कूल बीमा रकमको पाँच प्रतिशत लघुबीमा अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ । सरकारले सार्वजनिक गरेको बजेटमा भएको व्यवस्था अनुसार बीमा समितिले लघु बीमालाई प्रभावकारी बनाउन निर्देशन दिएको हो ।

३५ हजारदेखि दुई लाखसम्मको बीमा
लघुबीमा गर्नका लागि ३५ हजार रुपैयाँदेखि अधिकतम २ लाख रुपैयाँसम्मको बीमाङ्क रकम हुनेछ । लघुबिमा निर्दे्शिका २०७१ अनुसार एक सय ५० रुपैयाँमा दुर्घटना लघुबिमा योजना खरिद गर्न सकिनेछ । यस योजनाको बिमांक रकम भने १ लाख ५० हजार रुपैयाँ छ । बिमितले बिमांक रकमको ०.१ प्रतिशत बीमा शुल्क भुक्तानी गर्नुपर्नेछ । त्यस्तै, ५ सय रुपैयाँमा गार्हस्थ्य लघुबीमा योजना खरिद गर्न सकिनेछ । यो रकम बिमांक रकमको ०.२५ प्रतिशत हो । यस योजनाको बिमांक रकम २ लाखसम्म हुनेछ । यस योजनाले बिमितको सम्पत्तिको जोखिम बहन गर्छ । स्वास्थ्य लघुबिमा योजनाको बिमा शुल्क १ हजार ४ सय रुपैयाँ छ । यो रकम बिमांक रकमको ४ प्रतिशत हो । यस योजना खरिद गरेबापत्त एक परिवारका ५ जना सदस्यले ३५ हजार रुपैयाँसम्मको स्वास्थ्य उपचार प्राप्त गर्न सक्नेछन् ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]