June 27th, 2017

असारको अन्तिम साता दुई बीमा कम्पनीको हकप्रद सेयर खुल्दै

हिमालयन जनरल इन्स्योरेन्स लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले यही असारको अन्तिम साता हकप्रद सेयर निष्काशन खुला गर्ने भएका छन् ।

हिमालयनले एक बराबर एक दशमलव ६६६७ को अनुपात अर्थात १६६ प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । असार २८ देखि साउन ३१ सम्म खुला रहने सेयरमा असार १५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । 

कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको हकप्रदमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल नक्साल काठमाडौं तथा एनएमबि बैंकको सूर्य विनायक भक्तपुर, कुमारीपाटी ललितपुर, तीनदोबाटो बनेपा, ट्राफिक चोक बुटवल, महेन्द्रपथ धरान, रंगेलीरोड विराटनगर, सुर्खेतरोड नेपालगञ्ज, बसपार्क रोड धनगढी, न्यूरोड पोखरा, आदर्शनगर वीरगञ्ज, नारायाणगढ चितवन, भानुचोक जनकपुर र बिर्तामोड झापाबाट आवेदन दिन सकिनेछ ।

कम्पनी एक सय रुपैयाँ अंकित मूल्यमा ६४ करोड २० लाख रुपैयाँ बराबरको ६४ लाख २० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल ३८ करोड ५२ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको हकप्रद बिक्री पश्चात पूँजी एक अर्ब दुई करोड ७२ लाख रुपैयाँ पुग्नेछ । 

त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । असार ३० गतेदेखि भदौ १ गतेसम्म निष्काशन खुला रहने सेयरमा असार १२ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । 

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिबिआईएल क्यापिटल लिमिटेड रहेको छ । उक्त हकप्रद सेयरमा सिबिआईएल क्यापिटल लिमिटेड बाटुलेघर, सिटिजन बैंक इन्टरनेशनलको काठमाडौं शाखा कार्यालयहरु ठिमी, कुपनडोल, ग्वार्को, वौद्ध र कलंकीबाट आवेदन दिन सक्नेछन् । त्यस्तै लगानीकर्ताले एस क्यापिटल लिमिटेड दरबारमार्गबाट पनि आवेदन दिन सक्नेछन् ।

हाल ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ३९ करोड रुपैयाँ बराबरको ३९ लाख कित्ता हकप्रद सेयर जारी गरेर ७८ करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]