Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यी तीन कुरामा निर्भर गर्नेछ, आगामी दिनमा मुलुकको आर्थिक वृद्धि – राष्ट्र बैंक

२०७४ जेष्ठ २६ गते

सुष्मा थापा । नेपाल राष्ट्र बैंकले हाल कायम रहेको आर्थिक वृद्धि कायम राख्न पुनर्निर्माण र ठूला परियोजनाहरुको कार्यान्वयन तथा उर्जा आपूर्तिको व्यवस्थापन गर्नुपर्ने बताएको छ । चालू आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय रिपोर्ट सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो जनाएको हो । चालु आर्थिक वर्ष २०७४ को प्रथम दश महिनासम्मको उपलब्ध तथ्याङ्कलाई विश्लेषण गर्दा मुलुकको आर्थिक परिदृश्य सकारात्मक दखिएको राष्ट्र बैंकको तर्क छ । राष्ट्र बैंकले भनेको छ, ‘केन्द्रीय तथ्याङ्क विभागले हालसालै गरेको ६.९ प्रतिशतको कुल गार्हस्थ्य उत्पादन वृद्धिको अनुमानले निकट भविष्यको सकारात्मक अर्थिक वृद्धिको परिदृष्य प्रतिविम्वित गर्दछ । आगामी वर्षहरुमा पनि उच्च आर्थिक वृद्धि कायम गर्ने कार्य पुनरनिर्माण, ठूला परियोजनाहरुको कार्यान्वयन तथा उर्जा आपूर्तिको व्यवस्थापनमा निर्भर हुने देखिन्छ ।’ 

पुनर्निर्माण कार्यले गति लिएसँगै निकट केही समयसम्म नेपालको व्यापारको सन्तुलनमा चाप पर्ने राष्ट्र बैंकले जनाएको छ । तरपनि, वैदेशिक सहायता र प्रत्यक्ष वैदेशिक लगानीमा हुने अपेक्षित वृद्धिले देशको शोधनान्तर स्थितिलाई बचतमा राख्न सघाउ पुर्याउने अपेक्षा गरिएको छ । हाल मुलुकको शोधानान्तर ५३ अर्ब ८४ करोडले बचतमा रहेको छ । गत आर्थिक वर्षको १० महिनामा मुलुकको शोधानान्तर एक खर्ब ६६ अर्ब ८३ करोडले बचतमा रहेको थियो । त्यस्तै, अघिल्लो बर्षको दश महिनामा एक खर्ब ३४ अर्ब ३० करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा उच्च दरले बढेको वस्तु आयात तथा विप्रेषण आप्रवाहको न्यून वृद्धिका कारण सात अर्ब ५७ करोडले घाटामा गएको छ । यो अवधिमा पूँजीगत ट्रान्सफर११ अर्ब ३० करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ११ अर्ब ६१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु. ११ अर्ब ५९ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु. ४ अर्ब ६४ करोड रहेको थियो ।

विप्रषेण आप्रवाहको सुस्त वृद्धिले निक्षेप वृद्धिलाई समेत प्रभावित बनाएकाले आगामी दिनमा वित्तीय घर्षण कम गर्न निक्षेप र कर्जा वृद्धिको अन्तराल कम गर्दै लैजानुपर्ने देखिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार, वैशाखसम्ममा विप्रेषण आप्रवाह ५.२ प्रतिशतले मात्रै बढेर पाँच खर्ब ६६ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । जबकि, गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले बढेको थियो । रेमिट्यान्स आप्रवाहको वृद्धिदरमा कमी आएसँगै निक्षेपको वृद्धिदरमा पनि कमी आएको छ । गत आर्थिक वर्षको १० महिनामा ११.९ प्रतिशतले बढेको निक्षेप चालू आर्थिक वर्षको १० महिनामा ९.३ प्रतिशतले मात्रै बढेको छ । 

Ad