Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेप्सेको नेतृत्वप्रति भएको टिकाटिप्पणीमाथि नेप्सेको ध्यानाकर्षण, छवि धमिल्याउने काम नगर्न आग्रह 

२०७४ जेष्ठ २५ गते

पछिल्लो सयम नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को नेतृत्वलाई लिएर सञ्चार माध्यमहरुमा भएको टिकाटिप्पणीप्रति नेप्सेको ध्यानाकर्षण भएको छ । विद्युतीय तथा छापा सञ्चार माध्यमहरुले संस्थाको छविमा आँच पुग्ने गरी तथा नेतृत्वको व्यक्तिगत मानमर्दन गर्ने गरी टिकाटिप्पणी गरेको भन्दै नेप्सेले त्यसको खण्डन गरेको छ । 

यस्तो छ, नेप्सेले विहीबार जारी गरेको प्रेस विज्ञप्ति :

पछिल्लो समय संस्था तथा यसको नेतृत्वलाई लिएर विद्युतीय तथा छापा सञ्चार माध्यमहरुमा भएका टिकाटिप्पणीप्रति नेप्सेको ध्यानाकर्षण भएको छ । संस्थाको छविमा आँच पुग्ने गरी तथा नेतृत्वको व्यक्तिगत मानमर्दन गर्ने गरी भएका टिकाटिप्पणीको खण्डन गर्नु आवश्यक देखिएको छ ।

विगत चार वर्षमा समग्र पुँजी बजारको विकासका लागि नेप्से र यसको नेतृत्वले आफ्नो स्रोत साधनले भ्याएसम्म प्रयास गरेको छ । यी प्रयासहरुले जनस्तरमा अनुभव गर्न सकिने उल्लेख्य परिणाम पनि दिएको छ । नेप्सेकै प्रयासस्वरुप हाल काठमाडौं उपत्यकासहित देशका २२ सहरहरु बाट धितोपत्रको दैनिक कारोबार सम्भव भएको छ । विगत अढाई दशकदेखि धितोपत्रको दोस्रो बजार सेवाबाट वञ्चित सर्वसाधारणले दैनिक कारोबारमा सहज पहुँच पाएका छन् । धितोपत्रको दोस्रो बजार साँचो अर्थमा काठमाडौं बाहिर पुगेको छ । सदस्य दलालको रिमोट वर्क स्टेशन मार्फत दोस्रो बजार कारोबारलाई देशव्यापी बनाउने प्रयासमा अड्चन नआएका होइनन् । 

धितोपत्रको दोस्रो बजार कारोबारलाई कागजी झन्झटमूक्त बनाइएको छ । कागजी धितोपत्र प्रमाणपत्रको कारोबार हुँदै आएको बजारमा नेप्सेको सहायक कम्पनीको रुपमा स्थापित सिडिएस एन्ड क्लियरिङ लिमिटेड स्थापना भएपछि पनि लामो समय गतिहीन अवस्थामा रहेको थियो । नेप्सेको वर्तमान नेतृत्वकै सक्रियतामा सिडिएससी पूर्ण रुपमा सञ्चालनमा आएको र यसको लाभ आम लगानीकर्ताले प्राप्त गरेको तथ्यलाई बिर्सनु हुँदैन । 

दोस्रो बजारमा अन्तर्राष्ट्रियस्तरको आधुनिक अनलाईन स्वचालित कारोबार प्रणाली भित्र्याउने कार्यमा नेप्से लागिरहेको सर्वविदितै छ । सार्वजनिक खरिद ऐन तथा नियमलाई अवलम्बन गरी सुरु गरिएको अत्याधुनिक कारोबार प्रणाली खरिद प्रक्रिया नेप्सेको योजनाअनुसार नै अगाडि बढेको र बाह्य हस्तक्षेप नभएको भए हाल आम लगानीकर्ताले नेपालमै उच्च स्तरको कारोबार प्रणालीमा सरिक हुने अवसर पाइसकेका हुन्थे । नेप्सेले मिति २०७२/११/०४ गते Supply, Delivery, Installation and Commissioning of Internet Based Fully Automated Online Trading System at NEPSE, Contract No: 01/IT/NEPSE/072- 73 को Bidding Document अनुसार  YCO Pvt. Ltd सँग सम्झौता गरेको थियो । सम्झौता भएको मितिले १४ महिनाभित्र प्रणाली उपलब्ध गराउने गरी सम्झौता भएको अवस्थामा अनेकौं बखेडा खडा गरी नेप्सेको अत्याधुनिक प्रणाली भित्र्याउने प्रक्रियालाई सुस्त बनाइएको तथ्य कसैबाट लुकेको छैन । 

नेप्सेले आम लगानीकर्तालाई आफ्नो वेभसाइटमार्फत मार्केट डेप्थ देखाउने प्रयासमा पनि वाधाहरु बेहोर्नुपर्यो, अनेकौं कानूनी झञ्झट तेस्र्याइए । ढिलै भए पनि नेप्सेले वेभसाइट मार्फत मार्केट डेप्थ देखाउने कार्यमा सफलता प्राप्त गर्यो । सूचीकृत कम्पनीहरुको धितोपत्रहरुको बजार मूल्यमा प्रभाव पर्ने सूचनाहरु नेप्सेकै वेभसाइट मार्फत सार्वजनिक गर्ने विषयमा पनि नेप्सेले कठिनाई व्यहोर्नुपर्यो । छिटोभन्दा छिटो लगानीकर्तालाई सूचना उपलब्ध गराउनेजस्तो आधारभूत विषयमा असहयोग हुनु बिडम्बनापूर्ण थियो ।

उल्लिखित विषयहरु बाहेक बजारको सुधारका निम्ति थालिएका विविध कार्यहरुलाई सुनियोजित रुपमा रोक्ने अनि नेप्सेले काम गरेन, यसको नेतृत्व असक्षम भयो भन्दै अनर्गल प्रचार गर्ने कार्य अशोभनीय तथा निन्दनीय हो । सकारात्मक दिशामा अगाडि बढेको सक्षम सार्वजनिक संस्थानको छवि धमिल्याएर कसैको हित हुदैन । यस्ता अनर्गल प्रचार र अमर्यादित टिप्पणी नगर्न र त्यस्ता आधारहिन असत्य कुराहरुमा विश्वास नगर्न सम्बन्धित सबैमा आग्रह गरिन्छ ।

Ad