Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैङ्किङ क्षेत्रको अहिलेको दिशा र बैङ्करहरूको जिम्मेवारी

२०७४ जेष्ठ २१ गते

मनोज ज्ञवाली । भनिन्छ, कुशल नाविकको परीक्षा हुरीबतास चलेको बेलैमा हुन्छ । लगभग ७र८ महीनामा नेपाली बैङ्किङ क्षेत्रले जेजस्ता मोडहरू लिइरहेको छ र हामी चालक दलमा भएका वरिष्ठ बैङ्करहरूले जेजस्तो क्रियाकलाप गर्दै छौं, अनि नियमनकारी निकायले हरकुरामा लगाम लगाउनैपर्ने स्थिति सृजना गर्दै छौं, आफूलाई रोक्न खोज्दाखोज्दै पनि केही कुरा राख्दै छु । सम्बद्ध जिम्मेवार व्यवसायीहरूको ध्यान जाओस् ।

कसरी शुरू भयो समस्या ?
बैङ्करहरूले जीडीपीको वृद्धि दर अनि निक्षेपको वृद्धिदरलाई बिर्सेर यो वर्षको कर्जा र निक्षेप वृद्धिको रणनीति बनाए । कर्जामा भएको उच्च वृद्धिलाई निक्षेपको वृद्धिदरले सन्तुलन गर्न सकेन । अनि निक्षेपमा चाप पर्दै गयो । सरकारी खर्च नहुनुले समस्या झन् बल्झियो । निक्षेप तानातान प्रतियोगितासँगै निक्षेपको ब्याजदर दिनदिनै बढ्दै गयो । नेपालको सजिलो बैङ्किङ, जतिले निक्षेपको ब्याज बढ्यो त्योभन्दा अझै थपेर कर्जाको ब्याज ग्राहकबाट असुलियो । कर्जा लिनेको जेसुकै होस् बैङ्किङ क्षेत्रको मुनाफामा असर परेन । बैङ्कहरू मच्चिँदै ब्याजदरमै प्रतिस्पर्धा गरेर निक्षेप तान्न थाले । कर्जा लिने ग्राहक क्षेत्रीय प्रबन्धक, शाखा प्रबन्धककहाँ दिनभरि लाइन लागेर कराउन आए पनि शाखा प्रबन्धकहरूले थमथमाउँदै व्यवस्थापन गरे । माथिका हाकीमहरूले त्यो किचकिचको झमेला धेरै सहनु परेन । ब्याजदरमा प्रतिस्पर्धा चलिरह्यो ।

बैङ्कहरूले बचत निक्षेप र कल निक्षेपको ब्याजदरमा १२/१३ गुणासम्म अन्तर पारे, बचत निक्षेपको दर १ प्रतिशत त कल निक्षेपको दर १३–१४ प्रतिशतसम्म । अति गरेपछि राष्ट्र बैङ्कले निर्देशन जारी गर्नुर्पयो । फेरि साथीहरूले कल निक्षेपको नाम र थर परिवर्तन गरी लचिलो मुद्दती निक्षेप, निर्धा्रित मुद्दती निक्षेप, सजिलो मुद्दती निक्षेप बनाए । राष्ट्र बैङ्कले फेरि निर्देशन जारी गर्नुर्पयो ।

बैङ्कर्स एशोसिएशनमा भद्रसहमति गरी १२ प्रतिशतसम्म निक्षेपमा ब्याज दिने भनेर अफिस फर्केपछि १३ प्रतिशतदेखि १४ दशमलव १ प्रशितसम्म बोली लगाएर बैङ्कहरूले निक्षेप ताने । १२ प्रतिशत ब्याज दिने बिचराहरू हेरेको र्हेयै भए अनि अर्को बोलीमा झोकैझोकले १३ प्रतिशतमाथि ब्याज लिनु सामान्य भयो । राम्रै भनिने बैङ्कहरूले समेत १४ प्रतिशतमाथि बोली लगाएर निक्षेप उठाएकै छन् । विकास बैङ्क र फाइनान्सले कति बोली लगाउनु ?

यति मारामार गरेर निक्षेप तान्दा पनि बैङ्कहरूले ४ गुणा पूँजी वृद्धिसँग सन्तुलन हुने गरी लक्ष्य राखेको न निक्षेप पुग्यो न कर्जा । नाफा त ७ प्रतिशतमा दिएको कर्जालाई १४–१५ प्रतिशत गरेर नै कमाए । सञ्चालक सदस्यहरूको किचकिच नाफा मात्रै भनेर हुन्छ, खै कर्जा बढेको अनि खै व्यापार बढेको ? खप्की खाइसकेपछि व्यवसाय बढाउने अरू के उपाय छ त ? ल सम्पत्तिरदायित्व समितिको बैठक बोलाऊ, बढाइदेऊ ब्याजदर भकाभक । एउटाले ब्याज बढायो अनि छाप्यो पत्रिकामा या हाल्यो फेसबूकमा । अर्को दिन पूरा बैङ्किङ क्षेत्रमै उसैको बढेको ब्याजको चर्चा । अनि लौ हामीले बढाएन भने सब हाम्रो निक्षेप उसैले लान्छ जस्तो सबको सम्पत्ति÷दायित्व समितिको बैठकमा भकाभक ब्याज वृद्धिको निर्णय ।

पूँजी वृद्धिका लागि मर्जर या प्राप्तिको सहायता लिएको भए पूँँजीसँगै व्यवसाय पनि बढ्ने अवस्था हुन्थ्यो भने सञ्चालन खर्च पनि घट्थ्यो । पूँजीबजार राम्रै भएको बेलामा आएको यो निर्देशनलाई पालना गर्न धेरै अग्राधिकार शेयरको बाटो रोजे अनि २८ ओटा वाणिज्य बैङ्कमा एउटा पनि घटेन । पुगेन भनेर एफपीओ अस्त्रसमेत आयो, बजारमा ।

यसरी एकाएक बढाइएको ४ गुणा पूँजी वृद्धिमा एकै वर्षमा उही प्रतिफल या हाराहारी प्रतिफल दिन खोज्ने व्यावसायिक रणनीति तयार गरी सञ्चालक समितिबाट पास गराउन खोज्दा सोच्नुपर्ने थियो, सोचिएन । एउटा गल्ती भइसक्यो अब जबरजस्ती व्यापार वृद्धि गर्ने जिद्दी पूरा गर्न बैङ्कहरूले लिएका निर्णयहरू :

  • निक्षेपको ब्याजदर भकाभक बढाएर निक्षेप तान्ने ।
  • निक्षेपसँग सम्बद्ध शुल्क जे छ सबै छूट दिने । चाहे त्यो मुद्दती निक्षेपलाई अवधि पूरा हुनुअघि नै फिर्ता दिन होस् चाहे आफ्नै लागत रू. २५ को हाराहारी पर्ने आस्बा शुल्कलाई निःशुल्क गर्न होस् ।
  • निक्षेप ल्याइदिएबापत केही रकमबराबरको कर्जा निक्षेप ल्याइदिने दलालको सिफारिश वाला मान्छेलाई दिने ।
  • नगद या जिन्सीमा उपहार दिँदै निक्षेप सङ्कलनमा दौडिने ।
  • कर्जाको ब्याजदर जथाभावी जति बढाउन सकिन्छ बढाउने ।
  • अन्य

समाधान के हुन सक्छ ?
पूँजीवृद्धि ४ गुणा भयो भन्दैमा व्यवसाय वृद्धि सोही अनुपातमा गर्ने गरी बजेट लिएर सञ्चालक समितिमा पारित नगराऊँ । व्यवसाय वृद्धिको रणनीति बनाउँदा समग्र बैङ्किङ व्यवसायमै निक्षेप दर कति हुन सक्छ सो कुराको विश्लेषण गरेर मात्रै गरौं ।

एकैचोटि ४ गुणा पूँजी वृद्धि हुँदा प्रतिशेयर आम्दानी र प्रतिशेयर लाभांश उही कायम हुन सक्दैन । बैङ्कको शुरूको वर्षहरूमा प्रतिशेयर आम्दानी र प्रतिशेयर लाभांश कति थियो ? पुनर्विचार गरौं र सोहीअनुसारको बजेट तयार पारौं अनि सञ्चालक समितिलाई आश्वस्त पारौं ।

जथाभावी निक्षेप ब्याजदरको बढाबढ गरेर आफू पनि आत्तिने अनि अरूलाई पनि अत्याउने प्रतियोगितामा भाग नलिऊँ । १२ प्रतिशतमै लिएको निक्षेपको लागत नगद मौज्दात अनुपात, वैधानिक तरलता अनुपात र अतिरिक्त तरलता अनुपातलाई सन्तुलन गर्दा हिसाब गर्नुस् त १५ प्रतिशत हुन्छ । रू. सय निक्षेप लियो भने बढीमा रू. ८० कर्जा दिन पाउने हो । १३ प्रतिशतमा निक्षेप लिँदा १६ दशमलव २५ प्रतिशत लागत पर्न जान्छ । यो लागतको निक्षेप लिएर कर्जा कुन दरमा दिने ? हिसाब गरौं ।

आफ्नै लागत रू. २५ लाग्ने आस्बा निःशुल्क गर्ने, मुद्दती निक्षेपको अवधि पूरा नहुँदै फिर्ता गर्दा जरीवाना नलिने, मुद्दती निक्षेपको ब्याजदर १३ प्रतिशत भनेर छाप्ने अनि बोली लगाउँदा १४ प्रतिशतमा र्पुयाउने । यति गर्दा पनि आफ्नो नाफा नघटाउन ७–८ प्रतिशतमा फकाइफकाई लिएर आएको कर्जाको ग्राहकको ब्याजदर १५–१६ प्रतिशत र्पुयाउँदा कहिलेसम्म तिर्छ ? बैङ्करहरूले गरेका सबै अविवेकी निर्णयहरूको जरीवाना बिचरा कर्जा ग्राहकको टाउकोमा बोझ हालिदियो भने खराब कर्जा बढ्ने प्रवृत्ति बढ्छ, सोच्नुपर्यो ।

बैङ्किङ व्यवसाय पनि अरू व्यवसायजस्तै हो । यसैले सधैं एकनास मुनाफा बढिरहनुपर्छ भन्ने छैन । १ वर्ष नाफा कम हुँदैमा आकाश झर्दैन । यस बेला ग्राहकको विश्वास जितौं, सधैंलाई हुन्छ भन्ने सोचेर अघि बढ्नुपर्यो ।

यसैले १३–१४ प्रतिशतमा निक्षेप उठाउँदै व्यवसाय वृद्धिको लक्ष्य र्पुयाउन नलागौं । यो निर्णयले मुनाफामा सकारात्मक असर हुँदैन भने जोखीम बढ्दै जान्छ । बरु यो बेलाको समयलाई निम्न काममा सदुपयोग गरौं :

  • कर्जालाई नियमित गरौं । निष्क्रिय कर्जा र गैरबैङ्किङ सम्पत्ति व्यवस्थापनमा समय दिऊँ ।
  • आन्तरिक नीतिहरू, सञ्चालन ढाँचा र प्रणालीलाई पुनर्विचार गरौं अनि समयसापेक्ष बनाउँदै अघि बढौं ।
  • कर्मचारीहरूको तालीम र विकासमा जोड दिऊँ ।
  • आन्तरिक नियन्त्रण प्रणालीलाई पुनर्विचार गरौं र सञ्चालन जोखीमलाई न्यूनीकरण गर्ने नीतिहरू विकास गरौं ।
  • सम्भाव्य ठाउँमा शाखाहरू खोलौं र खुद्रा निक्षेपमा केन्द्रित गरौं ।
  • व्यवस्थापन समूहको क्षमता विकास गरौं ।
  • स्थिर र कम जोखीमसहितको व्यापार कार्ययोजना बनाऊँ ।

निक्षेपमा ब्याजदर बढाउँदा निक्षेपकर्ता त खुशी हुन्छन् तर त्यो लागत हामी कति पनि आफूले नबेहोरेर ऋणकर्तालाई पास गरिदिँदा कहिलेसम्म थेग्छ ? रबर पनि तन्किन्छ तर कतिसम्म ? धेरै तन्काए टुट्छ । लगानीमा फाइदा कति हुन्छ, बुझ्नुर्पयो । बैङ्कमा १७–१८ प्रतिशत ब्याज तिरेर पनि मुनाफा गर्न खोले समग्र 

अर्थतन्त्रको हालत के होला ?
आँधीबेहरीमा आत्तियो भने ज्यान जान्छ । संयमित हुनुर्पयो, अनि सबै सुरक्षित भइन्छ । आफू सक्षम भएर बसौं । स्थानीय निकायको पहिलो चरणको निर्वाचन भइसकेको छ, बजेट गाउँगाउँ पुगेको यसैले खर्च हुन्छ । आर्थिक गतिविधि पनि बढ्छ । अनि स्थिति सामान्य हुन्छ । फेरि व्यवसायको आकार वृद्धितर्फ लागौंला नि । हुँदैन ?

हाम्रो जिम्मेवारी आफू कार्यरत संस्थासँग मात्र होइन, बैङ्किङ उद्योग र समग्र अर्थतन्त्रसँग छ । हाम्रो जिम्मेवारी बैङ्कर र बैङ्किङको साखलाई माथिल्लोस्तरमा राख्नु पनि छ । जिम्मवार होऊँ, सफल होऊँ । शुभेच्छा । (ज्ञवाली ज्योति विकास बैङ्कका डेपुटी सीईओ हुन् ।) आर्थिक अभियानबाट साभार गरिएको