नमुनाथ पौडेल । नयाँ बैङ्कहरूको उदयसँगै विश्वको वित्तीय बजारमा नयाँ उपकरण, क्षेत्र, अवसर र चुनौतीहरू थपिएका छन् । एकातिर उदारीकरण र अविनियमनले बैङ्कहरूलाई आम्दानीको क्षेत्र विस्तार गर्न अवसर प्रदान गरेको छ भने सँगसँगै बढ्दो प्रतिस्पर्धा र अधिक जोखीम सृजना गरेको छ । परम्परागत रूपमा वित्तीय मध्यस्थता मात्रै गर्ने बैङ्कहरूले अब जटिल किसिमको वित्तीय कारोबारसमेत सञ्चालन गरेका कारण जोखीम व्यवस्थापन अपरिहार्य र जटिल बन्न पुगेको छ ।
कुनै पनि प्रभावकारी वित्तीय प्रणाली भएको देशमा वित्तीय सङ्कटको सम्भावना कम रहन्छ र यदि सङ्कट आइहालेमा पनि चाँडै र थोरै प्रयासमै सुधारको दिशामा फर्कने सम्भावना रहन्छ । स्वस्थ वित्तीय प्रणाली भन्नाले सम्भावित विभिन्न आर्थिक परिस्थितिहरूमा समेत प्रभावकारी ढङ्गले वित्तीय सेवाहरू प्रदान गर्न सक्ने अवस्थालाई जनाउँछ ।
वित्तीय प्रणाली प्रभावकारी र स्थिर हुन वित्तीय प्रणालीका जोखीमहरू पर्याप्त रूपमा पहिचान गर्ने, मापन गर्ने, बाँडफाँट गर्ने र व्यवस्थापन गर्ने व्यवस्था कार्यान्वयन भएको हुनुपर्छ । यसका लागि सम्बन्धित सुपरिवेक्षक र नियमनकारी निकायहरूलाई उनीहरूको वित्तीय प्रणालीमा सुधार गर्नेलगायत बैङ्किङ गतिविधि नियमन र सुपरिवेक्षणको कार्य अविछिन्न रूपमा गर्ने र स्थिरता कायम राख्ने वातावरण हुनुपर्छ । सुपरिवेक्षण र नियमन बारम्बार परिवर्तन भइरहेमा बैङ्क तथा वित्तीय संस्थाहरू प्रभावकारी ढङ्गले सञ्चालन हुन सक्दैनन् ।
वित्तीय अस्थिरता र बैङ्क असफलताका कारणहरू
विभिन्न देशमा भएका बैङ्किङ सङ्कट र त्यसपछिको नीतिगत सम्बोधनलाई लिएर औपचारिक रूपमै प्रशस्त अध्ययन र अनुसन्धान भएका छन् । विभिन्न १७ देशमा रहेका १ सय १७ ओटा बैङ्कमा आएका वित्तीय समस्या र फ्रान्स, बेलायत र स्क्याडिनाभियन राष्ट्रहरूको प्रतिवेदनको अध्ययन गरेर सन् १९८० देखिको यूरोपेली क्षेत्रको बैङ्किङ समस्याहरूको ग्र्रूप डे कण्ट्याक्टले गरेको अध्ययनअनुसार प्रायःजसो बैङ्किङ सङ्कट कर्जाको समस्या र कहिलेकाहीँ सञ्चालनसम्बन्धी जोखीमबाट उत्पत्ति भएको देखिन्छ । त्यस अध्ययनबाट व्यवस्थापन र नियन्त्रणको कमजोरी नै समस्या उत्पन्न हुने कारण रहेको पाइएको छ । उक्त प्रतिवेदनमा पर्याप्त सम्भावित नोक्सानी व्यवस्था नगर्नु र समयमै व्यवस्थापनको कमीकमजोरी पहिचान गर्न नसक्नु बैङ्क असफलताका मुख्य कारण रहेको उल्लेख छ ।
झियोवेक र पजारबासिओग्लुले सन् १९९७ मा उदीयमान र विकसित मुलुकहरूको २४ ओटा प्रणालीगत बैङ्किङ सङ्कटको छनोटबाट गरेको अध्ययनमा समस्याग्रस्त बैङ्कहरूमा व्यवस्थापन र नियन्त्रणको कमीकमजोरी ती सबै सङ्कटको मुख्य कारक तत्त्व थिए भन्ने पहिचान गरिएको छ । सन् १९९६ मा क्याप्रियो र क्लिङ्गेबीले गरेको २९ ओटा टाट पल्टेका बैङ्कको अध्ययनमा आर्थिक मन्दी र व्यापारको स्थितिजस्तो बाह्य तत्त्वहरू, कमजोर सुपरिवेक्षण र नियमनका साथसाथै व्यवस्थापनको कमीकमजोरी जस्ता आन्तरिक तत्त्वहरू नै ती बैङ्क टाट पल्टिनुका मुख्य कारण रहेको पाए । सन् २००८ को अन्त्यतिर विश्वभरि नै आर्थिक मन्दी छाउने गरी यूएसमा शुरू भएको बैङ्किङ असफलताको कारणसमेत धितोमा प्रदान गरिएको कर्जाहरूको नोक्सानी रहेको छ ।
सारांशमा माथि प्रस्तुत गरिएका उदाहरणबाट अपर्याप्त कर्जा नोक्सानी व्यवस्था, कमजोर बैङ्क व्यवस्थापन, कमजोर सुपरिवेक्षण तथा नियमन व्यवस्था नै विगतमा भएका मुख्य बैङ्किङ असफलताका कारण थिए भन्ने ज्ञात हुन्छ । नेपालमा पनि थुप्रै बैङ्क तथा वित्तीय संस्था समस्याग्रस्त घोषणा हुनु र केही विकास बैङ्क र फाइनान्स कम्पनी विघटन हुनुमा पनि यिनै मुख्य कारण रहेका थिए भनेर यकिनका साथ भन्न सकिन्छ । नेपालको बैङ्किङ सङ्कटको हकमा बैङ्क तथा वित्तीय संस्था नियन्त्रण गर्ने हैसियत राख्ने मालिकहरू र शीर्ष व्यवस्थापन तहका पदाधिकारीहरू समेत दोषी भएको देखिन्छ भने समस्याग्रस्त घोषणा गरिएका सरकारी बैङ्कहरूको हकमा सबै तहका पदाधिकारी संलग्न रहेको पाइन्छ ।
प्रणालीगत जोखीम
मेक्सिको (१९९४–९५), एसिया (१९९७–९८), इक्वेडर (१९९९) र अमेरिका (२००७–२००८), स्पेन (२००८–२००९) यूरोप (२०१२–२०१३) र अन्य देशमा भएको वित्तीय सङ्कटपछि अन्तरराष्ट्रिय जगत्बाट समयमै वित्तीय क्षेत्रको जोखीम र दिशा पत्ता लगाई सङ्कट रोकथाम गर्न आवश्यक कदम चाल्ने व्यवस्थाका लागि गरिएको पहलपछि आईएमएफ र विश्व बैङ्कको नियमित संयुक्त अध्ययनका रूपमा ‘वित्तीय क्षेत्र मूल्याङ्कन कार्यक्रम’ आयो । यसले कुनै पनि देशको वित्तीय संस्थाले विषम आर्थिक परिस्थितिमा कसरी व्यवहार गर्छ भन्ने कुराको जाँच गर्ने तथा अस्वस्थता पहिचान गर्ने समष्टिगत आर्थिक परिसूचकहरू र अन्तरराष्ट्रिय रूपमा स्वीकार गरिएको मान र मापदण्डहरूको पालनास्थितिलगायत विषयबाट प्रत्येक देशको वित्तीय प्रणालीको स्वस्थता अभिवृद्धि गर्न गरिएको प्रयासको मूल्याङ्कन गर्छ ।
एक दशक अगाडिबाट विश्व वित्तीय बजारमा देखिएको सङ्कटको कारण विकसित मुलुकमा वित्तीय क्षेत्र सुधार कार्यक्रमको निरन्तर नहुनु नै हो । यूएसमा भएको ठूलो आर्थिक मन्दीपछि १ तिहाइ संस्थाको असफलता र बैङ्कप्रतिको विश्वसनीयतामा कमी आएपछिको अनुभवबाट पुनः त्यस्तो अवस्था दोहोरिन नदिन फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनको स्थापना गरियो । यस्तो व्यवस्था अन्य विकसित मुलुकमा पनि लागू गरियो ।
बैङ्क सुपरिवेक्षण प्रणालीको मूल्याङ्कन
स्रोत परिचालनको दिगो वृद्धि प्राप्त गर्न तथा वित्तीय प्रणालीको स्थिर व्यवस्थाको प्रवर्द्धन गर्न वित्तीय बजार र संस्थाहरूको प्रभावकारी सुपरिवेक्षण तथा नियमन आवश्यक छ । वित्तीय क्षेत्रको गतिविधि अभिलेखीकरण गर्दा प्रतिस्पर्धाको गुणस्तर, उक्त क्षेत्रको नियमन र सुपरिवेक्षणका साथै वित्तीय क्षेत्र सुधार कार्यक्रममा यी कुराको प्रभावको मात्रा आदि समावेश हुनुपर्छ ।
बैङ्किङ सुपरिवेक्षणसम्बन्धी वासेल कमिटीले जारी गरेको ‘प्रभावकारी बैङ्किङ सुपरिवेक्षणका आधारभूत सिद्धान्तहरू’बमोजिम नेपाल राष्ट्र बैङ्कले विगतमा पटकपटक गरेको स्वमूल्याङ्कनबाट जोखीममा आधारित सुपरिवेक्षण प्रणालीको कार्यान्वयन, सुपरिवेक्षकीय क्षमताको प्रभावकारिता, नियमनमा स्तरोन्नति, जोखीम र रेटिङमा आधारित कर्जा नोक्सानी व्यवस्था, अन्तरदेशीय सूचना आदानप्रदान आदि क्षेत्रहरूमा प्रशस्त सुधार गर्नुपर्ने देखिएको छ ।
वित्तीय स्थायित्व परिसूचकहरू
प्रणालीगत वित्तीय अस्थिरताले वित्तीय सङ्कटको जोखीम बढाउँछ । यसले गर्दा भुक्तानीका सेवा र कर्जा प्रदान गर्ने क्षमतामै कमी आउँछ । नेपालको पछिल्लो सन् २०१५ सम्मको वित्तीय स्थायित्व प्रतिवेदनमा पूँजीगत पर्याप्तता सन् २०१३ को तुलनामा घटेको, सम्पत्तिको गुणस्तरमा फाइनान्स कम्पनीहरूको अझै चिन्ताजनक अवस्थामा रहेको, उत्तोलन अनुपात सन् २०१३ को तुलनामा आठओटा वाणिज्य बैङ्क उपल्लो वर्गबाट तल्लो वर्गमा थपिएको, कर्जा र निक्षेपको गुणात्मक वृद्धि नभएको उल्लेख छ भने नाफामा सामान्य वृद्धि रहेको देखिन्छ । तरलताको ५ दिन लगातार निक्षेप फिर्ता लिने स्ट्रेस टेष्टिङमा सन् २०१३ को पाँचओटा वाणिज्य बैङ्कबाट सन् २०१५ मा २२ ओटा वाणिज्य बैङ्क पुगेको छ । उक्त प्रतिवेदन विश्लेषणात्मक नभई विवरणात्मक रूपमा प्रस्तुत गरिएको र कुनै नियमको पालना गर्न मात्र तयार गरिएको जस्तै विनानिष्कर्ष र विनासिफारिश टुङ्ग्याइएको छ । अझ उक्त प्रतिवेदनमा वित्तीय क्षेत्रको २० प्रतिशत ओगट्ने बीमा, सञ्चय कोष र सहकारीलगायत आवश्यक विवरण र उचित मूल्याङ्कन समावेश हुन सकेको छैन ।
उपर्युक्त प्रतिवेदनको मितिउप्रान्त नेपाल राष्ट्र बैङ्कले वित्तीय स्थायित्वसम्बन्धी उद्देश्य र मान्यताविपरीत बैङ्किङ क्षेत्र बढी नाफामा केन्द्रित भयो भनेर बारम्बार आलोचना र त्यसलाई निरुत्साहित गर्ने किसिमको नीति तथा निर्देशनहरू जारी गर्दै आएको छ । तर, हालसालै बैङ्कहरूलाई लगानीयोग्य रकमको अभाव र नियमन पालनाको मात्र सङ्कट पर्दा भने कायम नियमनमा आवश्यकताभन्दा बढी लचकता र छूटसमेत प्रदान गरिएकोबाट वित्तीय स्थायित्वको लक्ष्यभन्दा विपरीत दिशातर्फ उन्मुख हुने जोखीम बढेको देखिन्छ ।
निष्कर्ष
यूएसजस्तो विकसित मुलुकमा समेत प्रणालीगत रूपमा आवास कर्जाबाट पर्न सक्ने असरका बारेमा सङ्कट आउनु अघिसम्म मूल्याङ्कन गरिएन भने सम्भावित सङ्कट बारेको पउल क्रुगम्यानजस्ता अर्थशास्त्रीहरूको सुझावको समेत पर्वाह भएन । स्पेनमा सन् २००८ देखि नै बैङ्कहरूलाई अप्ठ्यारो परेको समयमा कर्जा नोक्सानीलगायत व्यवस्थामा खुकुलो गर्दै जाँदा सन् २०१६ सम्म कठिन सङ्कटको चरणबाट गुज्रिन प¥यो । यसबाट पाठ सिकेर नेपालले समयमै प्रणालीगत वित्तीय अस्थिरताको सम्भावित कारणहरूको मूल्याङ्कन तथा मापनसहितको विश्लेषणात्मक प्रतिवेदन र त्यसको प्रभावकारी कार्यान्वयन प्रणाली अवलम्बन गर्ने बेला आइसकेको छ । (लेखक नेपाल राष्ट्र बैङ्कका पूर्वअधिकृत हुन् । ) आर्थिक अभियानबाट साभार गरिएको




