Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सेयर ब्रोकरको आचारसंहिताबारे रविन्द्र भट्टराईको विश्लेषण

२०७४ जेष्ठ १४ गते

पछिल्लो समय वित्तीय क्षेत्रमा चार अङ्क निकै प्रख्यात बनिसकेको छ, त्यो पनि पुँजीको सवालमा । नेपाल राष्ट्र बैकले बैंक तथा वित्तीय संस्थाको पुँजी चार गुणाले बढायो । त्यस्तै बिमा समितिले बिमा कम्पनीको पुँजी पनि सोही अङ्कको गुणाङ्कले बढाउने निणय गर्यो ।

धितोपत्र बोर्ड पनि पछि हट्न चाहेन र धितोपत्र व्यवसायी नियमावली परिवर्तन गरी ब्रोकरको पुँजी चार गुणाले वृद्धि गरिदियो । पुँजी वृद्धिले अवश्य पनि ब्रोकरको व्यवसाय तथा यसका सेवाग्राहीको जोखिमलाई कम गर्न सहयोग पुग्छ । तर के बजारको विकास र लगानीकर्ताको सुरक्षाका लागि पुँजी मात्र पर्याप्त छ ? अवश्य पनि छैन । अन्य धेरै कुरा गर्न बाँकी नै छ ।

बजारको विकासका लागि पुँजी वृद्धिसँगै ब्रोकर र यसका कर्मचारीमा उच्च नैतिक आचरण हुनु आवश्यक छ ।  यसलाई हामी कोड अफ इथिक्स पनि भन्छौं । धितोपत्र बोर्डले धितोपत्र दलाल व्यावसायीले पालना गर्नुपर्ने व्यावसायिक मर्यादा सम्बन्धी निर्दे्शिका बनाएर २०५८ सालबाट लागु गरेको देखिन्छ तर करिब १६ वर्ष बितिसक्दा पनि यसमा कुनै परिवर्तन हुन सकेको छैन । यसबाट हामी परिवर्तनबाट कति टाढा छौं भन्ने थाहा हुन्छ ।

२०५८ सालमा बनाइएको यो निर्दे्शिका निकै पुरानो भए पनि त्यसमा गरिएका केही व्यवस्था राम्रा देखिन्छन् । यद्यपि यसमा धेरै कुरा थप गरी समयसापेक्ष बनाइनु पर्छ । यसले पछिल्लो समय सेयर बजारमा भएका आन्तरिक तथा बाह्य विकास, परिवर्तन तथा लगानीकर्ताका बदलिदा आकाङ्क्षालाई पनि समेट्न सकोस् । यो निर्दे्शिकालाई समय सापेक्ष बनाई कडाइका साथ लागु गर्न सके बजार अझ बढी सभ्य र विश्वसनीय बन्न सक्छ । यसले ब्रोकरका कारण लगानीकर्तामा उत्पन्न जोखिम कम गराउन थप सहयोग पुग्छ ।

निर्दे्शिकामा भनिएको छ(“धितोपत्र दलाल व्यवसायीको रूपमा ग्राहकसँग कारोबार गर्दा कारोबार गर्ने व्यक्तिले आफू सञ्चालक, प्रतिनिधि वा कर्मचारी के हो सो बारेसमेत ग्राहकलाई स्पष्ट जानकारी गराउनुपर्दछ ।” यो बुँदामा “हरेक कर्मचारीले आफ्नो नाम र कामसहितको परिचयपत्र सेवाग्राहीले देख्ने गरी बोक्नुपर्ने” भन्ने थप्नु आवश्यक छ । बैंक तथा अन्य संस्थामा यस प्रकारको चलन भए पनि ब्रोकर कार्यालयमा कमै मात्र देख्न पाइन्छ ।

यस्तो व्यवस्थाले ग्राहकले कोसँग कुरा गर्दै छु भन्ने पहिचान गर्न सक्छ, आफूले खोजेको व्यक्ति पहिचान गर्न सक्छ र उसका कमजोरीका बारेमा गुनासो प्रस्तुत गर्न सहयोग पुग्छ । यो नहुँदा ब्रोकरका कार्यालयमा छिर्ने नयाँ ग्राहकले सबै कर्मचारीलाई समान रूपमा हेर्ने र सबैबाट लगानी सल्लाह पाउने अपेक्षा राखेको पाइन्छ, जुन लगानीकर्ताका लागि घातक हुने गर्छ ।

ब्रोकरको इमान्दारीमा अन्य केही विषय थप्न सकिन्छ । यस्तो कारोबार सम्बन्धमा कुनै ठुलो संख्याको खरिद वा बिक्री आदेश आए त्योभन्दा पहिला आफ्नो खरिद वा बिक्री आदेश राख्ने प्रवृत्तिलाई निरुत्साहित गरिनु पर्छ । यसलाई सेयर कारोबारमा अगाडि दौडिने (फ्रन्टिग) पनि भनिन्छ । यस्तै कारोबार समयको अन्त्यमा समग्र बजार बढेको वा घटेको देखाउन सानो संख्याको कारोबार गरेर मूल्य बढाउने वा घटाउने प्रवृत्तिलाई पनि निरुत्साहित गरिनु पर्छ ।

यसलाई सेयर कारोबारमा ‘विन्डो ड्रेसिङ’ भन्ने गरिन्छ । यी दुवै काम ब्रोकरको इमान्दारीभित्र पर्दैन । सेयर बजारमा यसलाई अपराधका रूपमा लिइन्छ । यस्तो अपराध नियन्त्रण गर्न ठुलो मात्रामा जरिवानाको व्यवस्था गरिनुपर्छ । तर, सेयर बजारका अहिलेका कानुनहरू जरिवानाविहीन छन, दण्डविहीन छन् । यो नै कानुन निर्माताको ठुलो कमजोरी हो ।

निर्दे्शिकाको ५.२ नम्बर बुँदाले ब्रोकरले लगानीकर्तालाई लगानी सल्लाह दिन पाउने अधिकार दिएको छ । यो व्यवस्था अन्य कानुनसँग मेल खाँदैन । वास्तवमा हाल भएका ब्रोकरहरू लगानीकर्तालाई लगानी सल्लाह दिने गरी लाइसेन्स लिएका ब्रोकर होइनन् । लगानी सल्लाहकार बन्ने हो भने अलग्गै अनुमति लिनु पर्ने हुन्छ । तर यस सम्बन्धमा अहिलेसम्म कुनै कानुन बनेको छैन । लगानी सल्लाहसहितको सेवा दिने ब्रोकरलाई पूर्ण सेवा (फुल सर्भिस) ब्रोकर भनिन्छ ।

अहिले काम गरेका ब्रोकर डिस्काउन्ट ब्रोकर हुन् जसले ग्राहकले किन्न आदेश दिए किन्दिने र बेच्न आदेश दिए बेचिदिने गर्छन् । उनीहरू लगानी सल्लाह नदिने ब्रोकरभित्र पर्दछन् । यदि लगानी सल्लाहकारको सेवा प्रदान गर्ने अनुमति दिने हो भने ब्रोकरको दायित्व बढाउनु पर्ने हुन्छ जसले हरेक ग्राहकको उद्देश्य, आवश्यकता र जोखिम लिन सक्ने क्षमताको पहिचाहन गरी सही लगानी सल्लाह दिन सकोस् र व्यक्तिगत फाइदा लिनबाट वञ्चित होस् । यस्तै ब्रोकरको गलत सल्लाहबाट ग्राहकलाई हुने नोक्सानीको क्षतिपूर्ति ब्रोकरले दिनुुपर्ने बाध्यात्मक व्यवस्था कानुनमा गरिनु पर्छ ।

ब्रोकरको आचार संहितामा रहेको सबैभन्दा ठुलो कमजोरी भनेको ब्रोकरको दक्षता (कम्पिटेन्सी) अभिवृद्धि सम्बन्धी व्यवस्था हो । आचारसंहिताले यस सम्बन्धी कुनै व्यवस्था गरेको छैन । बदलिंदो परिवेशमा एक पटक लिएको शिक्षा सधैं पर्याप्त हुन्छ भन्ने मानसिकताबाट प्रेरित भएर कानुन बनाइनु कानुन निर्माताको सबैभन्दा ठुलो कमजोरी हो ।

ब्रोकरले पुँजी बजार सम्बन्धी पछिल्ला गतिविधिमा जानकार हुन आवश्यक छ जसका लागि वार्षिक रूपमा निश्चित तालिम लिएको हुनुपर्ने, लगानी सम्बन्धी कोर्स गरेको हुनुपर्ने वा आफ्नो पेसासँग सम्बन्धी विभिन्न तालिम, गाष्ठिी वा सेमिनारमा सहभागी भई जानकार रहनु पर्ने व्यवस्था गरिनुपर्छ ।

यसमा बैंक तथा वित्तीय संस्था सम्बन्धी, बिमा, जलविद्युत्, लेखाप्रणाली, सेयर बजारमा पछिल्लो समय विकास भएका प्रविधि, लगानीका विकल्प आदिका बारेमा तालिम वा सेमिनारमा सहभागी भएकै हुनुपर्ने व्यवस्था गरिनु पर्छ । यो राष्ट्रिय तथा अन्तराष्ट्रिय कुनै पनि हुन सक्छ । गत वर्ष धितोपत्र बोर्डले ब्रोकरलाई विभिन्न चरणमा विदेश भ्रमणमा पठाएर त्यहाँको सेयर बजारको अवस्थाका बारेमा बुझाउन गरेको प्रयास यसको राम्रो उदाहरण हो ।

यदि यो नगर्ने हो भने बजारमा यिनको विश्वासनीयता क्रमशः घट्दै जानेछ । यिनको सेवाबाट लगानीकर्ताले ठुलो जोखिम लिनु पर्ने हुन्छ । समय सापेक्ष ज्ञानको अभावमा ब्रोकर तथा नियामक निकायले सेयर बजारमा नयाँ वस्तु तथा प्रणाली ल्याउन अवरोध गर्न खोज्ने हुन्छ । हाल भएका ब्रोकरले बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रयास रोक्न खोज्नुको एउटा कारण आफ्नो दक्षताको कमजोरी पनि हो ।

अरूको पैसाको कारोबार गर्नेले पहिला त्यसमा हुने जोखिमका बारेमा अभ्यस्त हुनु आवश्यक छ । जब ब्रोकर आफैं अभ्यस्त हुँदैन वा जानकार छैन भने उसले अरूको पैसाको व्यवस्थापन र ग्राहकको आवश्यकता अनुसारको सेवा दिन सक्ने कुरै हुँदैन । अहिले सेयर ब्रोकरको व्यवसायमा यो नै ठुलो प्रश्नको रूपमा रहेको छ ।

धितोपत्र बोर्डले नियमित दक्षता अभिवृद्धिलाई कानुनमै अनिवार्य गर्नु आवश्यक छ । यदि ब्रोकरले त्यस किसिमबाट आफूलाई अपडेट राख्न नसके वा त्यस प्रकारको जनशक्ति कार्यालयमा नराखे इजाजतपत्र खारेजीसम्म हुन सक्ने व्यवस्था गर्नु आवश्यक छ । 

सबै ब्रोकरलाई पुँजी मात्रको आधारमा सबै सेवा प्रदान गर्ने अनुमति दिइनु हुँदैन । पुँजी लगाउने हैसियत सबै ब्रोकरसँग होला तर दक्षता नहुन सक्छ । पुँजीले मात्र लगानीकर्ताको पैसाको सुरक्षा हुन सक्दैन । दक्षता चाहिन्छ । दक्षताका आधारमा कुन ब्रोकरले के काम गर्न पाउने वा नपाउने भन्ने अनुमति दिन सजिलो हुन्छ ।

यस्तै गोपनीयता सम्बन्धि व्यवस्थालाई आचार संहितामा अझ कडाइ गरिनु पर्छ । अहिले कुनै ग्राहकले कारोबार गरिनसक्दै सूचना बाहिर आइसकेको हुन्छ । कस्ले किन्यो वा कस्ले बेच्यो भनेर अनलाइन मिडियामा छापिइसकेको हुन्छ । यो नै ब्रोकरले गोपनीयता कायम गर्न नसकेको उदाहरण हो ।

आचार संहितामा कतिपय ठाउँमा यस्ता शब्द प्रयोग गरिएको छ जुन सेयर बजार सम्बन्धमा विद्यमान अन्य कानुन र व्यवस्थासँग बाझिएको देखिन्छ । जस्तो बुँदा नं ६.७ मा सेयर बिक्री गरेको भए तत्काल भुक्तानी दिनु पर्ने शब्द अन्य कानुनसँग मिल्दो देखिंदैन भने व्यावहारिक रूपमा सम्भव पनि छैन ।

यस प्रकारका शब्द प्रयोग भइरहँदा तथा बजारमा व्यापक परिवर्तन भइसक्दा पनि आचार संहिताको परिमार्जन गरेर समय सापेक्ष नबनाइनुले धितोपत्र बोर्डको काम गराइमा प्रश्न उठाउने ठाउँ प्रशस्तै देखिन्छ । बोर्डको अनुसन्धान र कानुन विभाग कति कमजोर छ भन्ने पनि यसले प्रष्ट पार्छ ।

ब्रोकरको आचार संहिता परिवर्तन गरी तत्काल समय सापेक्ष बनाइनु पर्छ जसका कारण ब्रोकरको व्यावसायिक आचरण कायम होस्, लगानीकर्ताको ब्रोकर माथि विश्वसनीयता थप बढोस् र लगानीको जोखिम पनि कम गर्न सकियोस् । –(भट्टराई सेयर बजार विश्लेषक एवं लगानीकर्ता हुन् ) कारोबार दैनिकबाट साभार गरिएको