राष्ट्रिय बीमा कम्पनीले एक सय १४ दशमलव २२ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । तीन आर्थिक वर्षको साधारणसभा एकैपटक सम्पन्न गर्दै कम्पनीले सो अनुपातमा बोनस सेयर वितरण गर्ने निर्णय पारित गरेको हो । साथमा कम्पनीले थप नयाँ साधारण सेयर (एफपिओ) समेत निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीले बोनस सेयर वितरण गरेपछि एफपिओ निष्काशन गर्न विशेष साधारणसभा डाक्ने प्रस्ताव साधारणसभाले पारित गरेको हो ।
हाल राष्ट्रिय बीमा कम्पनीको चुक्तापुँजी १२ करोड ४४ लाख ३९ हजार पाँच सय रुपैंया रहेको छ । बोनस सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैंया पुग्नेछ । त्यसपछि कम्पनीले एफपिओ जारी गर्नेछ । कम्पनीले संस्थापक र साधारण सेयर अनुपात ७०ः३० कायम गर्न एफपिओ जारी गर्न लागेको जनाएको छ । हाल कम्पनीमा नेपाल सरकार, नेपाल बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषको गरी ८०.४६ प्रतिशत र सर्वसाधारणसँग १९.५४ प्रतिशत सेयर रहेको छ ।


