नेपाल सरकारले महत्वाकांक्षी योजना अघि सारेको छ । सरकारले युवाहरुलाई स्वदेशमा नै रोजगारीको अवस्था सिर्जना गर्न आगामी १० बर्ष भित्र २ सय ५० खर्ब रुपैयाँ विदेशी लगानी भित्राउने महत्वाकांक्षी योजना अगाडी बढाएको छ । मुलुकमा नयाँ संविधानको कार्यान्वयन सुरु भएपछि लगानीको वातावरण बन्दै गएकाले वैदेशिक लगानीमार्फत फराकिलो अवसर सिर्जना गर्न सकिने छ । प्राकृतिक सम्पदाको प्रचुरता एवं जैविक तथा सांस्कृतिक विविधता, तुलनात्मक रूपमा न्यून ज्यालादर, नेपाली समुदायको विदेशमा बढ्दो उपस्थिति र उनीहरूको सीप, क्षमता र अनुभवको अधिकतम परिचालन गर्नसक्ने सम्भावना रहेकाले नेपालमा वैदेशिक लगानी भित्राउन सरकारले महत्वकांक्षी योजना बनाएको हो ।
वैदेशिक लगानीमार्फत बचत र लगानीको आवश्यकताबीच अन्तर पूरा हुने, आधुनिक प्रविधि, व्यवस्थापकीय तथा प्राविधिक कौशल भित्राई उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने, देशमा नै उत्पादन गर्न सकिने तर हाल आयात भैरहेका वस्तु तथा सेवा उत्पादन गरी आन्तरिक माग पूर्ति गर्ने तथा निर्यात विस्तार गर्न सकिने सरकारले अपेक्षा राखेको छ ।
आगामी आर्थिक बर्षका लागि बजेट तयारीको क्रममा रहेका मन्त्रालयले बिभिन्न ५ वटा प्राथमिकतलाई अघि सारेका छन् । आगामी १० बर्ष भित्र रोजगारीका लागि विदेशमा जान बाध्य नहुने गरी देशभित्रै रोजगारीको सिर्जना गर्न सरकारले यस्तो तयारी थालेको हो । आगामी बजेटमा नीजि क्षेत्रलाई उत्प्रेरणा तथा वैदेशिक लगानी भित्राउने आवश्यक कार्यक्रम ल्याउने तयारी सरकारले गरेको छ । यसका अतिरिक्त स्थानीय स्रोत–साधन र सीपको उपयोग तथा सन्तुलित प्रादेशिक विकास हुने गरी प्राथमिकताका क्षेत्रमा वैदेशिक लगानी परिचालन गर्ने रणनीतिमा सरकार लागेको छ । युवालाई नेपाल मै चाहिदो मात्रामा रोजगारीको अवसर सिर्जना गर्न आवश्यक वैदेशिक लगानी भित्राउने सरकारले बिभिन्न विषयलाई अघि बढाउँदैछ । लगानीकर्ताले नेपालमा सहजै लगानी गर्न सक्ने वातावरण बनाउन आवश्यक ऐन तर्जुमादेखि दोहोरो कर उन्मुक्तिसम्बन्धी सम्झौतामा समेत सरकारले सक्रियता देखाएको छ ।


