देवः विकास बैंक लिमिटेडले युनियन फाइनान्स लिमिटेडलाई खरीद गर्ने भएको छ । दुबै संस्थाबीच बुधबार साँझ एक्विजिसन सम्झौता भएको हो । समझदारी पत्रमा देव विकासका अध्यक्ष प्राडा सुवर्णलाल बज्राचार्य र युनियनका अध्यक्ष भक्तवहादुर मल्लले हस्ताक्षर गरेका छन् । एक्विजिसनपछि बन्ने संस्थाको नाम देवः विकास बैंक नै रहने छ भने प्रमुख कार्यकारी अधिकृत पनि देवः विकास बैंकबाटै रहनेछन् ।
केही समयअघि बैंकले सेञ्चुरी बैंकसँग मर्जरका लागि कुराकानी गरेको थियो । सो प्रयास सफल हुन नसकेपछि बैंकले हकप्रद बाटै पुँजी बढाउने निर्णय गरी सोहीअनुरुप अगाडि बढिरहेको छ । ५० प्रतिशत हकप्रद सेयर र गत आर्थिक वर्षको कमाईबाट १४ प्रतिशत बोनस सेयर वितरण गरेर देवः विकास बैंकले एक अर्ब ४४ करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको छ । युनियन फाइनान्सलाई एक्वायर गरेपछि देवःको चुक्तापुँजी एक अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । २०७४ असारमसान्तभित्र दुई अर्ब ५० करोड रुपैयाँ पुर्याउनका लागि दुवै संस्था मिलेर आवश्यक पहल गर्ने भएका छन् । अपुगपूँजी पुर्याउन अर्को संस्थालाई गाभ्ने रणनीति बैंकले लिएको छ ।


