March 8th, 2017

पाँच वित्तीय संस्थाको हकप्रद आउँदै (कसको कति ? हेर्नुस् रिपोर्टमा)

नेपाल राष्ट्र बैंकले पुँजीवृद्धिका लागि निर्धारण गरेको समयसीमा नजिकिँदै गर्दा बैंकहरुले हकप्रद निष्काशनको क्रमलाई तीव्र पारेका छन् । चैत्रको पहिलो र दोस्रो सातामा मात्रै पाँच वटा बैंक तथा वित्तीय संस्थाले हकप्रद निष्काशन गर्दैछन् । यी संस्थाको कुल दुई अर्ब ८१ करोड ११ लाख ७९ हजार चार सय रुपैयाँको हकप्रद सेयर निष्काशन हुन लागेको हो । हेरौँ, कुन संस्थाको हकप्रद सेयर कहिले आउँदैछ ?

मिसन डेभलपमेन्ट बैंक लिमिटेड
मिसन डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयर चैत्र ३ गतेदेखि निष्काशन हुने भएको छ । बैंकले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । 

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा १९ करोड ४९ लाख २५ हजार रुपैयाँ बराबरको १९ लाख ४९ हजार २ सय ५० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशन बैशाख ६ गतेसम्म खुला रहनेछ । 

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा भिबोर क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयरका लागि भिबोर क्यापिटल र मिसन डेभलपमेन्ट बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । 

हाल मिसन डेभलपमेन्ट बैंकको चुक्तापुँजी १९ करोड ४९ लाख २५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ३८ करोड ९८ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

कुमारी बैंकको हकप्रद चैत्र ६ गतेदेखि
कुमारी बैंक लिमिटेडको ५० प्रतिशत अर्थात दुई बराबर एक अनुपातको हकप्रद सेयर चैत्र ६ गतेदेखि निष्काशन हुने भएको छ । बैंकले एक सय रुपैंया अंकित दरमा हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले हुने एक अर्ब ३४ करोड ९५ लाख ८३ हजार दुई सय रुपैयाँ बराबरको एक करोड ३४ लाख ९५ हजार आठ सय ३२ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद सेयर निष्काशनका लागि कुमारीले गत फागुन १ गते नेपाल धितोपत्र बोर्डमा अनुमति पाएको थियो ।  

उक्त हकप्रदमा फागुन १९ गतेसम्म कायम सेयरधनीले बैशाख १० गतेसम्म आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । नक्सालको नारायनचौस्थित विक्री प्रबन्धकको कार्यालय र कुमारी बैंकका सम्पूर्ण शाखाहरुबाट हकप्रद भर्न पाइने बताइएको छ । 

हाल बैंकको चुक्तापुँजी २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट २१ प्रतिशत बोनस सेयर बितरणको प्रस्ताव पनि गरिसकेको छ । बोनस र हकप्रद सेयर वितरण गरेपछि बैंकको पूँजी चार अर्ब ६१ करोड ५४ लाख ९४ हजार रुपैयाँ पुग्नेछ । 

डिप्रोक्स लघुवित्त विकास बैंकको हकप्रद चैत्र ७ गतेदेखि
डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडले यही चैत्र ७ गतेदेखि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित दरमा २५ करोड ७९ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीको हकप्रद सेयर नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय सेन्ट्रल प्लाजा, नारायणचौर नक्साल र डिप्रोक्स लघुवित्तका सबै शाखाहरुबाट भर्न सकिने छ । हकप्रदमा वैशाख १० गतेसम्म आवेदन दिने सक्ने बताइएको छ । 

बैंकले जारी गर्न लागेको हकप्रद सेयरलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ प्रदान गरेको छ । यसले बैंकको आधारभूत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्दछ । हकप्रद सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ५१ करोड ५८ लाख पुग्ने बैंकले जनाएको छ ।

टुरिजम डेभलपमेन्ट बैंकको हकप्रद चैत्र १३ गतेदेखि
टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन चैत्र १३ गतेदेखि सुरु हुने भएको छ । बैंकले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । आगामी वैशाख १७ गतेसम्म निष्काशन खुला रहने हकप्रद सेयरमा माघ ५ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । 

टुरिजमले एक सय रुपैयाँ अंकित मूल्यमा ९१ करोड ९७ लाख ७१ हजार दुई सय रुपैयाँ बराबरको ९१ लाख ९७ हजार ७ सय १२ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । उक्त हकप्रद सेयर निष्काशनका लागि बैंकले एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकको हकप्रद खरिद गर्नका लागि नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेड, कुमारी बैङ्क लिमिटेड, सानिमा बैङ्क लिमिटेडबाट आवेदन बुझाउन सकिन्छ । 

हाल टुरिजम डेभलपमेन्ट बैंकको चुक्तापुँजी ९१ करोड ९७ लाख ७१ हजार दुई सय रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी एक अर्ब ८३ करोड ९५ लाख ४२ हजार चार सय रुपैयाँ पुग्नेछ । टुरिजमले आफैँ अढाई अर्ब पुँजी पुर्याएर राष्ट्रिय स्तरको विकास बैंकको रुपमा रहने सक्ने भएर पनि मेगा बैंकसँग मर्जरमा जाने सम्झौता गरिसकेको छ ।

नेरुडे लघुवित्त विकास बैंकको हकप्रद चैत्र १४ गतेदेखि
नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर चैत्र १४ गतेदेखि निष्काशन गर्ने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित दरमा नौ करोड रुपैयाँ बराबरको नौ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । 

वैशाख १७ गतेसम्म निष्काशन खुला रहने कम्पनीको हकप्रद सेयरको निष्काशन तथा विक्री प्रबन्धकको जिम्मा एनसिएम मर्चेण्ट बैंकिङ लिमिटेडले पाएको छ । नेरुडे लघुवित्तको केन्द्रीय कार्यालय विराटनगर, मोरङ र एनसिएम मर्चेण्ट बैङ्किङ  लिमिटेड कमलपोखरीबाट उक्त हकप्रद सेयरका लागि आवेदन दिन पाइनेछ ।

हाल नेरुडे लघुवित्तको चुक्तापुँजी १८ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि लघुवित्तको चुक्तापुँजी २७ करोड रुपैयाँ पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]