Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपालमा रहेका भारु सटहीबारे छलफल गरेको भारतीय टोलीले आरबीआईलाई रिपोर्ट बुझाउने

२०७३ फाल्गुन १९ गते

नेपालमा रहेका प्रतिवन्धित भारु पाँच सय र हजार दरका पुराना नोट सटही गर्ने विषयमा छलफल गर्न आएको भारतीय टोली आज (बिहिबार) स्वदेश फर्केको छ । मंगलबार नेपाल आईपुगेको टोलीले नेपालमा रहँदा नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र विभिन्न वाणिज्य बैंकका प्रतिनिधिहरुसँग छलफल गरेको थियो । यसअघि भारु सटहीकै विषयमा भारत पुगेको नेपाली टोलीले भारतलाई गरेको ‘कन्भिन्स’को ‘एक्चुएल कन्फरमेसन’को लागि भारतीय टोलीले यहाँका सम्बन्धित निकायका प्रमुखहरुसँग छलफल गरेको हो ।  

छलफलका क्रममा भारतीय टोलीले नेपालको बैंकिङ प्रणालीको सुरक्षाबारे जिज्ञासा राखेको थियो । मंगलबार र बुधबार छुट्टाछुट्टै रुपमा अर्थ मन्त्रालय तथा केन्द्रीय बैंकका अधिकारीसँग छलफल गरेको टोलीले नेपालमा रहेका प्रतिबन्धित भारु साट्न भारत तयार रहेको भन्दै नेपालको बैंकिङ प्रणालीको सुरक्षाबारे जिज्ञासा राख्यो ।  

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्म ढुंगाना, स्टान्डर्ड चार्टड, राष्ट्रिय वाणिज्य बैंक, एसबीआई बैंक, एभरेष्ट बैंक र एनआइसी एसिया बैंकका अनुपालन विभागका प्रमुख समेतलाई राखेर बुधबार छलफल गरेको भारतीय टोलीले भारु नोट साट्नुअघि नेपालको बैंकिङ प्रणालीको विश्वसनीयताबारे बुझेको हो । छलफलका क्रममा नेपालको केन्द्रीय बैंकले गरेको व्यवस्थालाई बैंकहरुले कसरी पालना गरिरहेका छन् वा छैनन् भन्ने विषयमा भारतले चासो राखेको थियो ।

यसअघि नेपालको अर्थ र परराष्ट्र मन्त्रालय तथा राष्ट्र बैंकका प्रतिनिधि सम्मिलित नेपाली टोलीले भारत पुगेर नोट सटहीलाई कसरी व्यवस्थापन गर्ने, जाली नोट सटही हुनबाट कसरी रोक्ने र खुला सिमानाका कारण भारतबाट थप नोट आउन नदिएर नेपालमा भएका वैधानिक नोट मात्रै साट्ने व्यवस्था कसरी मिलाउने भन्नेजस्ता कुराको ब्रिफिङ गरेको थियो । त्यस्तो समस्या व्यवस्थापनका लागि टोलीले एउटा सफ्टवेयर तयार गरेकोबारे पनि भारतलाई जानकारी गराएको थियो ।

एकजना नेपालीले ५ सय र हजार दरका २५ हजार भारु बराबरका नोट मात्रै सटही गर्न पाउने गरी राष्ट्र बैंकका डेपुटी गभर्नर शिवाकोटी संयोजकत्वको कार्यदलले सफ्ट्वेयर तयार गरेको थियो । यसका लागि नोट साट्ने व्यक्तिले आफ्नो आम्दानीको स्रोत वैध भएको, नोट नक्कली ठहरिएमा त्यसको जिम्मेवारी आफैंले लिने र एउटा बैंकबाट २५ हजार भारुबराबरका पाँच सय र हजार दरका नोट साटिसकेपछि पुनः अर्को बैंकमा नोट साट्दीन भन्ने घोषणा गर्नुपर्नेजस्ता सर्त राखेर नोट साट्ने व्यवस्था मिलाइएको थियो । तर केन्द्रीय बैंकले तयार पारेको यस्तो व्यवस्थामा नेपालका बैंकहरुको प्रतिवद्दता कस्तो छ त भन्नेबारे भारतले जान्न चाहेको थियो । त्यसैले बिहिबार यही विषयमा केन्द्रीय बैंकका अधिकारीहरुलाई समेत राखेर वाणिज्य बैंकका कम्प्लाइन्स विभाग प्रमुखहरुसँग भारतीय टोलीले छलफल गरेको हो ।

छलफलमा सहभागी केन्द्रीय बैंकका एक अधिकारीका अनुसार समग्रमा भारतीय टोली भारु नोट सटहीबारे पूर्ण रुपमा सकारात्मक देखिएको छ । नेपालमा विभिन्न निकायका प्रतिनिधिहरुसँग गरेको छलफलका आधारमा टोलीले रिपार्ट तयार पार्नेछ । र सो रिपार्ट रिजर्ब बैंक अफ इन्डिया (आरबीआई)लाई बुझाउनेछ । आरबीआईले रिपार्ट अध्ययन गरिसकेपछि चित्त बुझेको अवस्थामा सिधै नोट सटही गर्न सक्नेबारे भारत सरकारलाई सिफारिस गर्नेछ भने चित्त नबुझेको अवस्थामा यी कुराहरुमा यस्तो व्यवस्था गर्नुपर्छ भनेर सर्त राख्नेछ । त्यसपछि त्यहाँको सरकारले नेपालमा रहेका भारु नोट सटहीको लागि औपचारिक कदम चाल्नेछ ।

नेपालमा बैधानिक च्यानलमा रहेका भारु साटही गरिदिन विषयमा नेपालले लामो समयदेखि भारतलाई आग्रह गर्दै आएको छ । तर भारतले नेपालको बैंकिङ प्रणालीको विश्वसनीयतामा शंका गर्दै आलटाल गरिरहेको थियो । गत नोभेम्बर दोश्रो साता भारतले कालोधन र आतंकवाद नियन्त्रण गर्न भन्दै पाँच सय र हजार दरका पुराना नोटमा प्रतिबन्ध लगाएको थियो । सो प्रतिबन्धसँगै नेपालमा पनि त्यसको असर परेको हो । नेपालको बैंकिङ प्रणालीमा पाँच सय र हजार दरका झण्डै पौने ९ करोड भारु रहेको बताइएको छ भने बैंकिङ च्यानलबाहिर रहेका यस्ता नोटको भने कुनै लेखाजोखा छैन ।