Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

गुराँस लाइफ इन्स्योरेन्सले कमायो झन्डै दुई करोड मुनाफा : गत वर्षभन्दा दुई गुणा बढी

२०७३ फाल्गुन १ गते

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ९७ लाख ८१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई गुणा बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा गुराँसले ९६ लाख ४१ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

५५ करोड रुपैयाँ चुक्तापुँजी भएको कम्पनीले जगेडा कोषमा गत आर्थिक वर्षको दोस्रो त्रैमासमाको तुलनामा ११ दशमलव ५१ प्रतिशतले बढाएर १८ करोड २४ लाख रुपैयाँ राखेको छ । त्यस्तै, बीमाकोषमा एक अर्ब ७८ करोड ९३ लाख रुपैयाँबाट बढाएर दुई अर्ब ५५ करोड ५२ लाख रुपैयाँ पुर्याएको छ ।  

यो अवधिमा गुराँसको आम्दानी ६९ प्रतिशतले बढेर तीन करोड छ लाख रुपैयाँ पुगेको छ भने खर्च ८४ लाख ९० हजार रुपैयाँबाट बढेर एक करोड नौ लाख दुई हजार रुपैयाँ पुगेको छ । त्यस्तै, बीमाशूल्कवापत कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ४३ दशमलव ३६ प्रतिशत बढी अर्थात ४५ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । यो अवधिमा तीन करोड ८४ लाख रुपैयाँ बराबरको दाबी भुक्तान गरेको कम्पनीले दुई करोड ६० लाख रुपैयाँ बराबरको दाबी भुक्तान गर्न बाँकी रहेको बताएको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी सात रुपैयाँ १९ पैसा, मूल्य आम्दनी अनुपात ९८ दशमलव ०१ प्रतिशत, प्रतिसेयर नेटवर्थ एक सय ३३ रुपैयाँ १८ पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य छ सय ३४ रुपैयाँ ८५ पैसा रहेको छ ।