
बैंकिङ खबर / छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड लघुवित्त क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा आठौँ पटक सम्मानित भएको छ । आर्थिक वर्ष २०८१/८२ मा अन्य लघुवित्त वित्तीय संस्थाको तुलनामा सर्वाधिक आयकर दाखिला गरेबापत संस्थाले राष्ट्रिय स्तरको सम्मान प्राप्त गरेको हो ।
राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छिमेक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दीपक तिवारीलाई सम्मानपत्र प्रदान गरेका हुन् ।
लघुवित्त क्षेत्रका संस्थामध्ये सर्वाधिक आयकर दाखिला गर्ने संस्थाको पहिचान बनाएको छिमेकले यसअघि पनि सात पटक यस्तो सम्मान प्राप्त गरिसकेको छ । आठौँ पटक प्राप्त सम्मानले संस्थाको कर अनुपालन, वित्तीय पारदर्शिता र संस्थागत उत्तरदायित्वलाई पुनः चर्चामा ल्याएको छ ।
सम्मान ग्रहणपछि प्रमुख कार्यकारी अधिकृत तिवारीले यस उपलब्धिलाई संस्थाभित्रको सामूहिक प्रयास र जिम्मेवार व्यवस्थापनको परिणामका रूपमा व्याख्या गरेका छन् । राज्यप्रतिको वित्तीय दायित्व पूरा गर्नु कानुनी बाध्यतामात्र नभई संस्थागत नैतिकता र सुशासनको अभिन्न हिस्सा भएको उनको भनाइ छ ।
उनले करसम्बन्धी दायित्वलाई इमानदारीपूर्वक पूरा गर्ने र पारदर्शी वित्तीय अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । यो सफलताको श्रेय ग्राहक सदस्य, शेयरधनी, सञ्चालक समिति, व्यवस्थापन समूह र कर्मचारीलाई जाने उल्लेख गर्दै उनले सबै पक्षको विश्वास र सहकार्यले संस्थालाई यो स्थानसम्म पुर्याएको बताए ।
छिमेक लघुवित्तले वित्तीय पहुँचबाट वञ्चित तथा आर्थिक रूपमा कमजोर वर्गलाई लक्षित गरी लघुवित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाले साना कर्जा तथा वित्तीय सेवामार्फत वित्तीय समावेशीकरण र आर्थिक गतिविधिमा सहभागिता विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ ।
लघुवित्त क्षेत्रमा कर योगदानका आधारमा लगातार सम्मानित हुँदै आएको संस्थाका लागि यो उपलब्धि संस्थागत प्रतिष्ठासँगै राज्यप्रतिको आर्थिक जिम्मेवारीको निरन्तरताका रूपमा देखिएको छ । आगामी दिनमा पनि पारदर्शी र उत्तरदायी वित्तीय सेवा प्रवाहलाई प्राथमिकता दिने संस्थाले जनाएको छ ।