
बैंकिङ खबर / पहिरोका कारण मनकामना जाने पहुँचमार्गमा सवारी आवागमन प्रभावित भएको छ। मनकामना पहुँचमार्गको दोस्रो घुम्तीमुनि पहिरो खसेपछि सडकमा सवारीसाधनको आवतजावतमा समस्या आएको हो ।
सडकमा पहिरो खसेसँगै सवारीसाधनलाई साविकको पार्किङ स्थलसम्म जान रोक लगाइएको छ । यात्रुको सहजताका लागि पूर्वतर्फबाट मनकामना आउने सवारीसाधनका लागि राजमार्गको देब्रेतर्फ मुग्लिनतर्फ करिब ७० मिटर अगाडि वैकल्पिक पार्किङको व्यवस्था गरिएको छ ।
वैकल्पिक पार्किङस्थलमा सवारीसाधन राखेपछि यात्रु तथा भक्तजनले त्यहाँबाट पैदलमार्ग हुँदै मनकामना मन्दिरतर्फ जान सक्ने व्यवस्था गरिएको छ ।
सडकमा समस्या देखिए पनि मनकामना मन्दिर दर्शन तथा मनकामना केबलकार सेवा भने नियमित रूपमा सञ्चालनमा रहेको व्यवस्थापनले जनाएको छ । केबलकारमार्फत मन्दिरसम्म पुग्ने सेवामा हाल कुनै अवरोध नरहेको जनाइएको छ ।
मौसममा सुधार आएलगत्तै पहिरो प्रभावित सडकको मर्मत तथा आवागमन सहज बनाउने कामलाई तीव्रता दिइने बताइएको छ। सडकको अवस्थालाई ध्यानमा राख्दै यात्रु तथा भक्तजनलाई सावधानी अपनाउन र व्यवस्थापनले तोकेको वैकल्पिक पार्किङ तथा पैदलमार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।
मनकामना दर्शनका लागि जाने यात्रु तथा भक्तजनलाई सडकको अवस्थाबारे आवश्यक जानकारी लिएर यात्रा गर्न तथा सम्बन्धित निकायलाई आवश्यक सहयोग गर्न व्यवस्थापनले अनुरोध गरेको छ ।