Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

बैंकको ब्याजदरमा देखियो थप राहतको संकेत

२०८३ आश्विन ११ गते

बैंकिङ खबर /  वाणिज्य बैंकहरूको औसत आधारदर निरन्तर घट्दै चालु आर्थिक वर्ष २०८३/८४ को साउनमा ४.७२ प्रतिशतमा झरेको छ। आधारदरमा आएको यो कमीले बैंकबाट कर्जा लिने ग्राहकका लागि ब्याजदर तुलनात्मक रूपमा सहज हुने संकेत गरेको छ ।

नेपाल बैंकर्स संघले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको समष्टिगत आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी विवरणअनुसार बैंकहरूको औसत आधारदर गत आर्थिक वर्षको अन्त्यमा रहेको स्तरबाट समेत घटेको हो ।

गत आर्थिक वर्ष २०८२/८३ को साउनमा वाणिज्य बैंकहरूको औसत आधारदर ५.७८ प्रतिशत थियो। त्यसयता क्रमशः घट्दै गत असारमा ४.८३ प्रतिशतमा पुगेको आधारदर चालु आर्थिक वर्षको साउनमा ४.७२ प्रतिशत कायम भएको छ। एक वर्षको अवधिमा औसत आधारदर १.०६ प्रतिशत बिन्दुले घटेको हो ।

आधारदर बैंकहरूले विभिन्न प्रकारका कर्जाको ब्याजदर निर्धारण गर्दा प्रयोग गर्ने प्रमुख सूचकमध्ये एक हो। बैंकको आधारदर घट्दा कर्जाको ब्याजदर घटाउन सहज वातावरण बन्न सक्छ। तर ऋणीले वास्तविक रूपमा तिर्नुपर्ने ब्याजदर भने आधारदरमा बैंकले थप गर्ने प्रिमियम, कर्जाको प्रकृति र अन्य सम्बन्धित शर्तअनुसार फरक पर्न सक्छ ।

संस्थागत निक्षेपको हिस्सा पनि घट्यो

बैंक तथा वित्तीय संस्थाको निक्षेप संरचनामा पनि पछिल्लो एक वर्षमा परिवर्तन देखिएको छ। चालु आर्थिक वर्षको साउनमा कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा ३३.३० प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही महिनामा कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा ३५.१० प्रतिशत थियो। गत असारमा भने यस्तो हिस्सा ३३.९० प्रतिशत रहेको थियो। यसले बैंकिङ प्रणालीको कुल निक्षेपमा संस्थागत निक्षेपको निर्भरता केही घटेको देखाउँछ ।

संस्थागत निक्षेपको हिस्सा घट्नु बैंकहरूको निक्षेप संरचना र स्रोत व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण सूचकका रूपमा हेरिन्छ। बैंकहरूको ब्याजदर तथा निक्षेप संरचनामा हुने परिवर्तनले कर्जा विस्तार र बैंकिङ प्रणालीको समग्र वित्तीय गतिविधिमा समेत प्रभाव पार्न सक्छ ।

मुद्रा प्रदायमा वृद्धि

यसैबीच, मौद्रिक सूचकहरूमा पनि वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको साउनमा विस्तृत मुद्रा प्रदाय (एम२) को वृद्धिदर १३.८० प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको साउनमा यस्तो वृद्धिदर १२.५० प्रतिशत थियो ।

एक वर्षको तुलनामा एम२ को वृद्धिदर १.३० प्रतिशत बिन्दुले बढेको हो। त्यस्तै, साउनमा रिजर्भ मनीको वृद्धिदर १३.६० प्रतिशत रहेको विवरणमा उल्लेख छ ।

विस्तृत मुद्रा प्रदायमा भएको वृद्धि र बैंकहरूको आधारदरमा आएको कमीले वित्तीय प्रणालीमा मौद्रिक गतिविधि तथा ब्याजदरको अवस्थाबारे महत्वपूर्ण संकेत गर्छ। आधारदर घट्ने क्रम कायम रहेमा कर्जाको लागतमा समेत क्रमिक प्रभाव पर्न सक्ने देखिन्छ। यद्यपि त्यसको प्रत्यक्ष प्रभाव कर्जाको प्रकार, बैंकले निर्धारण गर्ने प्रिमियम र अन्य शुल्कका आधारमा फरक पर्न सक्छ ।