Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
कर्पोरेट

पहिरोका कारण मनकामना पहुँचमार्ग प्रभावित, केबलकार सेवा नियमित

२०८३ आश्विन ११ गते

बैंकिङ खबर /  पहिरोका कारण मनकामना जाने पहुँचमार्गमा सवारी आवागमन प्रभावित भएको छ। मनकामना पहुँचमार्गको दोस्रो घुम्तीमुनि पहिरो खसेपछि सडकमा सवारीसाधनको आवतजावतमा समस्या आएको हो ।

सडकमा पहिरो खसेसँगै सवारीसाधनलाई साविकको पार्किङ स्थलसम्म जान रोक लगाइएको छ । यात्रुको सहजताका लागि पूर्वतर्फबाट मनकामना आउने सवारीसाधनका लागि राजमार्गको देब्रेतर्फ मुग्लिनतर्फ करिब ७० मिटर अगाडि वैकल्पिक पार्किङको व्यवस्था गरिएको छ ।

वैकल्पिक पार्किङस्थलमा सवारीसाधन राखेपछि यात्रु तथा भक्तजनले त्यहाँबाट पैदलमार्ग हुँदै मनकामना मन्दिरतर्फ जान सक्ने व्यवस्था गरिएको छ ।

सडकमा समस्या देखिए पनि मनकामना मन्दिर दर्शन तथा मनकामना केबलकार सेवा भने नियमित रूपमा सञ्चालनमा रहेको व्यवस्थापनले जनाएको छ । केबलकारमार्फत मन्दिरसम्म पुग्ने सेवामा हाल कुनै अवरोध नरहेको जनाइएको छ ।

मौसममा सुधार आएलगत्तै पहिरो प्रभावित सडकको मर्मत तथा आवागमन सहज बनाउने कामलाई तीव्रता दिइने बताइएको छ। सडकको अवस्थालाई ध्यानमा राख्दै यात्रु तथा भक्तजनलाई सावधानी अपनाउन र व्यवस्थापनले तोकेको वैकल्पिक पार्किङ तथा पैदलमार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

मनकामना दर्शनका लागि जाने यात्रु तथा भक्तजनलाई सडकको अवस्थाबारे आवश्यक जानकारी लिएर यात्रा गर्न तथा सम्बन्धित निकायलाई आवश्यक सहयोग गर्न व्यवस्थापनले अनुरोध गरेको छ ।