
बैंकिङ खबर / संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलाशययुक्त जलविद्युत आयोजनाका लागि ९ अर्ब रुपैयाँ ऋण लगानी जुटेको छ।
सांग्रिला ऊर्जा लिमिटेडले प्रवर्द्धन गरिरहेको आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा ६ वटा बैंक तथा वित्तीय संस्थाले सहवित्तीयकरणमार्फत ऋण लगानी गर्ने सम्झौता गरेका छन्।
सहवित्तीयकरणमा माछापुच्छ्रे बैंक अगुवा बैंकका रूपमा रहेको छ। प्रभु बैंक र लुम्बिनी विकास बैंक सह–अगुवा बैंक तथा मुक्तिनाथ विकास बैंक, एनआईसी एशिया बैंक र सांग्रिला डेभलपमेन्ट बैंक सदस्य बैंकका रूपमा सहभागी छन्।
आयोजनाको कुल अनुमानित लागत १२ अर्ब रुपैयाँ रहेको छ। त्यसमध्ये ९ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको ऋण र ३ अर्ब रुपैयाँ संस्थापकको स्वपुँजीबाट जुटाइनेछ। आयोजनाको प्रमुख सेयरधनीमध्ये घलेम्दी हाइड्रो लिमिटेडको करिब १ अर्ब १० करोड रुपैयाँ लगानी रहेको छ।
अर्धजलाशययुक्त प्रकृतिको आयोजनाबाट दैनिक चार घण्टा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने गरी संरचना तयार गरिनेछ। कम्पनीका अनुसार आयोजनाबाट वार्षिक करिब ३७ करोड १८ लाख युनिट विद्युत उत्पादन हुनेछ। नेपाल विद्युत प्राधिकरणसँग आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको छ।
आयोजनाबाट विद्युत उत्पादन सुरु भएपछि पहिलो वर्ष करिब २ अर्ब २७ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ। सञ्चालनको नवौं वर्षमा वार्षिक आम्दानी करिब २ अर्ब ८४ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ। पीपीएअनुसार आयोजनाले ३ प्रतिशतका दरले आठ पटक मूल्यवृद्धि पाउने व्यवस्था रहेको कम्पनीले जनाएको छ।
वित्तीय विश्लेषणअनुसार आयोजनाको इक्विटीमा प्रतिफल (आरओई) २५.६७ प्रतिशत र आन्तरिक प्रतिफल दर (आईआरआर) १५.४७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। आयोजनाको लाभ–लागत अनुपात १.५८ तथा खुद वर्तमान मूल्य (एनपीभी) ५ अर्ब ३३ करोड रुपैयाँ रहेको छ। साधारण पेब्याक अवधि ५.७३ वर्ष हुने अनुमान गरिएको छ।
निर्माणका लागि पूर्वाधार तयार
आयोजनाको १४ किलोमिटर लामो पहुँचमार्ग निर्माण सम्पन्न भएको छ भने आवश्यक क्याम्प निर्माणको काम पनि सकिएको कम्पनीले जनाएको छ। आयोजनाका लागि आवश्यक रुख कटानको काम पूरा गरी रुख रोपण तथा संरक्षणका लागि वन तथा भूसंरक्षण विभागलाई ३ करोड ६३ लाख रुपैयाँ उपलब्ध गराइएको छ।
आयोजनाबाट उत्पादित विद्युत ५५ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत प्राधिकरणको शीतलपाटी २२० केभी सबस्टेशनमा जोडिनेछ। त्यसका लागि ५५ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ।
सांग्रिला ऊर्जाले उक्त नदी करिडोरमा निर्माणाधीन अन्य जलविद्युत आयोजनासँग सहकार्य गरी प्रसारण लाइन निर्माण गर्ने जनाएको छ।
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आयोजना तोकिएको समयमै सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सहवित्तीयकरणमा सहभागी बैंकहरू प्रतिबद्ध रहेको बताए।
सांग्रिला ऊर्जाका कार्यकारी अध्यक्ष किशोर सुवेदीले आयोजनाको हेड ९०० मिटरभन्दा बढी रहेकाले क्षमताअनुसार ठूला संरचना निर्माण गर्नुपर्ने अवस्था नरहेको बताए। यसले आयोजना तुलनात्मक रूपमा कम लागतमा निर्माण गर्न सहयोग पुग्ने उनको भनाइ छ।
१७१ मेगावाटको आयोजना पनि अध्ययनमा
सांग्रिला ऊर्जाले बाजुरा जिल्लामा १७१ मेगावाट क्षमताको छिम्दी कवाडी खोला जलाशययुक्त जलविद्युत आयोजना पनि अघि बढाउने तयारी गरेको छ। उक्त आयोजनाको हाल सम्भाव्यता अध्ययन भइरहेको कम्पनीले जनाएको छ।