Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

Veel को दक्षिण एसियाली बजारमा औपचारिक प्रवेश

२०८३ श्रावण १ गते

बैंकिङ खबर/ काठमाडौं। कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ ले नेपाल र भारतमा आफ्नो औपचारिक सेवा सुरु गर्दै दक्षिण एसियाली बजारमा प्रवेश गरेको छ। कम्पनीले व्यवसाय र कन्टेन्ट क्रिएटरबीचको सहकार्यलाई थप सरल, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित आफ्नो सेवा विस्तार गरेको जनाएको छ।कम्पनीका अनुसार Veel ले व्यवसाय, ब्रान्ड तथा कन्टेन्ट क्रिएटरलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने व्यवस्था गरेको छ। यस प्लेटफर्ममार्फत व्यवसायहरूले आफ्नो आवश्यकताअनुसार उपयुक्त क्रिएटर छनोट गर्न, प्रचार अभियान सञ्चालन गर्न, भिडियो सामग्री तयार गराउन, समीक्षा तथा स्वीकृति दिन, भुक्तानी व्यवस्थापन गर्न र कन्टेन्टको प्रयोग अधिकार सुरक्षित गर्न सक्नेछन्। त्यसैगरी, नेपाल र भारतका क्रिएटरहरूले स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रत्यक्ष रूपमा सहकार्य गर्दै आफ्नो सीप र सिर्जनालाई विश्व बजारमा प्रस्तुत गर्ने अवसर पाउनेछन्।

काठमाडौंमा आयोजित औपचारिक शुभारम्भ कार्यक्रममा प्रविधि, स्टार्टअप, डिजिटल व्यवसाय, कन्टेन्ट क्रिएटर तथा कूटनीतिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दिलीप ढकालले दक्षिण एसियाको क्रिएटर अर्थतन्त्रलाई आधुनिक प्रविधिसँग जोड्दै नयाँ अवसर सिर्जना गर्ने उद्देश्यले नेपाल र भारतबाट सेवा विस्तार गरिएको बताए। उनका अनुसार दक्षिण एसियामा ठूलो संख्यामा प्रतिभाशाली कन्टेन्ट क्रिएटर र व्यवसाय भए पनि उनीहरूलाई प्रभावकारी रूपमा जोड्ने प्रविधिमैत्री प्रणालीको आवश्यकता महसुस गरिएको थियो। Veel ले यही आवश्यकता पूरा गर्ने लक्ष्य लिएको उनले बताए।उनले एआईको प्रयोगमार्फत क्रिएटर छनोटदेखि कन्टेन्ट निर्माण, समीक्षा, स्वीकृति, भुक्तानी तथा अधिकार व्यवस्थापनसम्मका सम्पूर्ण प्रक्रिया एउटै प्लेटफर्मबाट सञ्चालन हुने जानकारी दिए। यसले व्यवसायहरूको समय, लागत र व्यवस्थापन प्रक्रियालाई सहज बनाउनुका साथै क्रिएटरहरूलाई पनि दिगो रूपमा आयआर्जन गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपालका लागि अमेरिकी नियोगका कार्यवाहक प्रमुख स्कट उर्बोमले प्रविधि, नवप्रवर्तन र उद्यमशीलताको विकासले नेपालजस्ता उदाउँदा बजारमा नयाँ सम्भावना सिर्जना गर्ने बताए। उनले अमेरिकी प्रविधि र नेपाली प्रतिभाको संयोजनले डिजिटल अर्थतन्त्रलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै Veel जस्ता प्लेटफर्मले अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ दिशा दिने उल्लेख गरे।कम्पनीका अनुसार Veel ले परम्परागत रूपमा प्रयोग हुँदै आएका इमेल, मेसेजिङ एप, स्प्रेडसिट, छुट्टाछुट्टै भिडियो सम्पादन सफ्टवेयर तथा फरक–फरक भुक्तानी प्रणालीलाई एउटै स्मार्ट कार्यप्रवाहमा समेटेको छ। व्यवसायहरूले आफ्नो उत्पादन तथा लक्षित ग्राहकका आधारमा अभियान तयार गर्ने, त्यसपछि इच्छुक क्रिएटरहरूले आवेदन दिने वा एआई प्रणालीमार्फत छनोट हुने व्यवस्था गरिएको छ। छनोट भएका क्रिएटरहरूले प्लेटफर्मभित्रै भिडियो सामग्री तयार गर्ने, ब्रान्डले आवश्यक परिमार्जन सुझाव दिने, अन्तिम स्वीकृति प्रदान गर्ने र त्यसपछि भुक्तानी स्वतः सम्पन्न हुने प्रणाली विकास गरिएको कम्पनीले जनाएको छ। कन्टेन्टको स्वामित्व तथा प्रयोग अधिकार पनि यही प्लेटफर्ममार्फत सुरक्षित रूपमा व्यवस्थापन हुने व्यवस्था रहेको छ।

Veel ले हाल विश्वभरका ४५० भन्दा बढी ब्रान्ड, पाँच लाख ५० हजारभन्दा बढी प्रमाणित क्रिएटर तथा १२१ भन्दा बढी देशलाई आफ्नो नेटवर्कमा जोडिसकेको जनाएको छ। कम्पनीका अनुसार नेपाल र भारतका व्यवसायहरूले वेबसाइटमार्फत तथा क्रिएटरहरूले मोबाइल एपमार्फत सेवा लिन सक्नेछन्।नेपालमा सहज र सुरक्षित डिजिटल भुक्तानी सुनिश्चित गर्न Veel ले नेपाल क्लियरिङ हाउस, फोनपे, ई–सेवा, खल्ती तथा हाम्रो पेसँग साझेदारी गरेको छ। यसमार्फत व्यवसाय तथा क्रिएटरहरूले स्थानीय डिजिटल भुक्तानी प्रणालीमार्फत सुरक्षित, छिटो र सहज रूपमा रकम भुक्तानी तथा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।कम्पनीले दक्षिण एसियामा सेवा विस्तारसँगै नेपाल र भारतका व्यवसाय तथा कन्टेन्ट क्रिएटरलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने लक्ष्य लिएको जनाएको छ। एआई, डिजिटल मार्केटिङ र क्रिएटर अर्थतन्त्रलाई एउटै प्लेटफर्ममा समेट्ने अवधारणासहित सञ्चालनमा आएको Veel ले आगामी दिनमा दक्षिण एसियाको डिजिटल बजारमा थप विस्तार गर्दै विश्वव्यापी क्रिएटर इकोसिस्टमलाई सुदृढ बनाउने योजना पनि सार्वजनिक गरेको छ।