बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले वित्तीय सचेतना अभियानअन्तर्गत सर्वसाधारणलाई क्रेडिट कार्ड प्रयोग गर्दा त्यसका सबै सर्त र सुविधाबारे राम्रोसँग बुझेर मात्र प्रयोग गर्न आग्रह गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय चेतनामूलक सन्देशमा क्रेडिट कार्डलाई ‘क’ वर्गका वाणिज्य बैंक तथा राष्ट्रियस्तरका ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरणका रूपमा उल्लेख गरिएको छ।
राष्ट्र बैंकका अनुसार क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समयभित्र रकम भुक्तानी गरेमा कुनै ब्याज लाग्दैन। तर, निर्धारित मितिभित्र भुक्तानी नगरे उच्च दरको पेनाल ब्याज लाग्न सक्ने भएकाले समयमै भुक्तानी गर्ने बानी बसाल्नुपर्नेमा जोड दिइएको छ। साथै, क्रेडिट कार्ड लिनुअघि तथा प्रयोग गर्नुअघि ग्राहकले खरिद तथा नगद सीमा (लिमिट), भुक्तानी गर्न पाउने अवधि (ग्रेस पिरियड), पेनाल ब्याजदर, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण (स्टेटमेन्ट), गुनासो दर्ता गर्ने प्रक्रिया तथा अन्य सर्त र अवस्थाबारे जानकारी लिनुपर्ने राष्ट्र बैंकको सुझाव छ।
राष्ट्र बैंकले क्रेडिट कार्डको अनुशासित प्रयोगबाट धेरै सुविधा लिन सकिने भए पनि असावधानीपूर्वक प्रयोग गर्दा अनावश्यक ऋणको जोखिम बढ्न सक्ने चेतावनी दिएको छ। त्यसैले ‘सचेत प्रयोगकर्ता बनौं, क्रेडिट कार्ड सुरक्षित रूपमा चलाऔं’ भन्ने सन्देशमार्फत जिम्मेवार वित्तीय व्यवहार अपनाउन आग्रह गरिएको छ। राष्ट्र बैंकले वित्तीय सेवासम्बन्धी गुनासोका लागि आफ्नो अनलाइन गुनासो पोर्टल तथा वित्तीय ग्राहक संरक्षण इकाइमार्फत पनि सम्पर्क गर्न सकिने जनाएको छ।


