
बैंकिङ खबर / सर्लाहीको हरिवन नगरपालिका वडा नं ११ मा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखाले १ दिने सर्फ बनाउने तालिम र ग्लोबल मनि सप्ताह कार्यक्रम सम्पन्न गरेको छ। हरीवन नगरपालिका वडा नं ११ मा रहेको ग्रामीण स्वयंसेवक समाजको सभाहलमा १ दिने कार्यक्रम यस संस्थाको सञ्चालक दधिराम पौडेल ज्यूको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरेको हो।
समूहमा आबद्ध रहेका महिलाहरुलाई वित्तीय सक्षम बनाउन, न्यूनतम बचतलाई कसरी बचाउने र भविष्यमा आइपर्ने आर्थिक समस्याको समाधान कसरी गर्ने, समुहमा देखा परेको समस्या, सुधारको लागि चालिएको कदम र संस्थाकोतर्फबाट गर्नुपर्ने आवश्यक सहयोग तथा सर्फ बनाउने तालिम लगायतका विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम संचालन गरिएको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड हरीवनका शाखा प्रमुख चुडामणी ढुंगानाले जानकारी दिए।
५३ जना महिला तथा अभिभावकहरुले सहभागिता जनाएको कार्यक्रममा हरीवन स्टेशनका अनुगमन अधिकृत मानप्रसाद फुयाल, लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागिहरुलाई वित्तीय साक्षरताको परिचय, यसको आवश्यकता, वित्तीय लक्ष्य निर्धारण सम्बन्धि कसरी आम्दानी बढाउने, बचत भनेको के हो रु, कसरी बचत गर्ने, कति बचत गर्ने, बचत किन र केका लागि गर्ने, बचत गर्दाका फाइदाहरु, जोखिम, असर, जोखिम सामना गर्ने उपायहरु, ऋण लिने कारणहरु, संस्थाले ऋण लगानी गर्दा र सदस्यले ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरु साथै पछिल्लो समयमा लघुवित्तप्रति फैलिएका नकारात्मक टीकाटिप्पणी जस्ता विषयहरुमा छलफल भएको थियो।
यस्तै, उक्त कार्यक्रममा बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशीलता, पैसाको महत्व, वीमा, वित्तीय साक्षरताको महत्व, इसेवा, मोबाइल एसएमएस सेवा लगायतका विषयमा छलफल गरिएको थियो। हरीवन ११ स्थित संस्थाले बैंकहरुमा पहुँच हुन नसक्ने विपन्न वर्गलाई घरमै पुगेर कर्जा दिँदै आएको, समय-समयमा तालिमहरु प्रदान गर्दै आएको, उनिहरुको आर्थिक अवस्थामा सुधार, दैवी प्रकोपमा परेकाहरुलाई राहत उपलब्ध, उपचार खर्च, सुत्केरी स्याहार खर्च लगायतका सेवाहरु उपलब्ध गराउँदै आएको संस्थाका शाखा प्रमुख ढुंगानाले बताए।
कार्यक्रममा सञ्चालक ज्यूले संस्थाबाट लिएको कर्जाको सही सदुपयोग गरी आर्थिक अवस्था सुधार गर्न र तालिम लिएर आत्मनिर्भर हुन सहभागिहरुलाइ अनुरोध गरे।
संस्थाले यसअघि पनि समूहका सदस्यहरुका लागि वित्तीय साक्षरता र सीपमूलक तालिम दिँदै आएको जनाएको छ । पछिल्लो समय ऋण लिएर सही सदुपयोग नगर्दा धेरै महिला तालिम मार्फत सीप प्रदान गर्न संस्थाले पहल गरेको तथा पैसा सही समयमा सही ठाउँमा लगानी तथा बचत गरी आफ्नो जीवनमा लागू गर्न स्टेशनका अनुगमन अधिकृत मान प्रसाद फुयालले बताए।





