
बैंकिङ खबर / नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको कार्यकाल सकिएसँगै अब नयाँ डेपुटी गभर्नर को बन्ने भन्ने विषयमा चर्चा सुरु भएको छ। हाल डेपुटी गभर्नर पद रिक्त भएपछि नयाँ नियुक्तिका लागि प्रक्रिया अगाडि बढ्ने तयारी गरिएको छ। राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नरको नियुक्ति बैंकभित्रकै कार्यकारी निर्देशकहरूमध्येबाट गर्नुपर्ने व्यवस्था छ। सो व्यवस्था अनुसार गभर्नर डा.विश्वनाथ पौडेलले राष्ट्र बैंकमा कार्यरत कार्यकारी निर्देशकहरूमध्येबाट कार्यक्षमता, अनुभव तथा योगदानका आधारमा रिक्त पदको दोब्बर संख्यामा नाम सिफारिस गर्नुपर्ने प्रावधान छ।
गभर्नरले सिफारिस गरेका नामहरूमध्येबाट सरकारले अन्तिम निर्णय गर्दै डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था रहेको छ। हाल राष्ट्र बैंकमा डा. सत्येन्द्र तिमिल्सिना, नरेश शाक्य, रामु पौडेल, विश्रुत थापा,रेवतीप्रसाद नेपाल, दयाराम शर्मा, गुरुप्रसाद पौडेल, किरण पण्डित, चेतप्रसाद उप्रेती, रोशनकुमार सिग्देल, रामशरण खरेल, डिल्लीराम पोखरेल, दीर्घबहादुर रावल, निश्चल अधिकारी, अनुज दाहाल, दीपकराज लामिछाने, राजनविक्रम थापा र राजेन्द्र भट्टराई गरी १८ जना कार्यकारी निर्देशक कार्यरत छन्।
डेपुटी गभर्नर पद केन्द्रीय बैंकको उच्च व्यवस्थापकीय जिम्मेवारीमध्ये एक मानिन्छ। मौद्रिक नीति कार्यान्वयन, बैंक तथा वित्तीय संस्थाको नियमन-सुपरिवेक्षण र विभिन्न विभागको समन्वयमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले नयाँ नियुक्तिलाई अर्थतन्त्र र बैंकिङ क्षेत्रले विशेष चासोका साथ हेरिरहेको छ।



