२०८२ कार्तिक १८ गते

सात वर्षपछि छुट्दैछन् पूर्वबैंकर कमल ज्ञवालीः यस्ता छन् उनीमाथिका आरोपहरु

बैंकिङ खबर/ नेपालको बैंकिङ्ग क्षेत्रमा पूर्वबैंकर कमलप्रसाद ज्ञवालीको नामले लामो समय चर्चा पायो। सात वर्षदेखि जेलमा रहेका उनी अब भने छुट्ने क्रममा छन्। ज्ञवालीलाई छाड्न सर्वोच्च अदालतले परमादेश जारी गरेको हो ।

पत्नी गौरी खनाल ज्ञवालीले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। न्यायाधीश हरिप्रसाद फुयाल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले आज (सोमबार) परमादेश जारी गरेको हो।

जेल पर्नुका कारण

ज्ञवाली तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक थिए । किष्ट बैंकपछि मर्ज भएर प्रभु बैंक बनेको थियो । बैंक सञ्चालनको क्रममा उनलाई उच्च पदमा रहँदा ऋण प्रवाह र बैंकको लगानी व्यवस्थापनमा महत्वपूर्ण भूमिका थियो ।

तर ज्ञवाली र उनकी पत्नी गौरी खनालले सिद्धार्थ डेभलपमेन्ट बैंकबाट ऋण लिएका थिए । यो ऋण ’जम्को प्रकाशन’को नाममा लिइएको थियो। तथापि, वास्तविकतामा उक्त ऋण बैंकले अनुमति दिएको उद्देश्य विपरीत प्रयोग भएको पाइएको छ । ऋण दुरुपयोगको आरोपमा बैंकले अनुसन्धान गर्यो र कानूनी प्रक्रिया अघि बढायो।

पाटन उच्च अदालतको वाणिज्य इजलासले २०७३ असोजमा ज्ञवाली र उनकी पत्नी गौरीलाई मुद्दा चलाएर तीन वर्ष जेल र १२ करोड ५० लाख रुपैयाँ जरिवाना तोकेको थियो। 

ज्ञवालीले अदालतको फैसला अवज्ञा गर्दै फरार भएका थिए। उनी फरार भएपछि उनलाई खोज्न प्रहरीले प्रयास गर्यो। २०७५ असोजमा भारतबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। उनकी पत्नी गौरी खनाल त्यही बेलै पक्राउ परिन्। यसरी दम्पती दुवै कानूनी प्रक्रिया अन्तर्गत जेल चलान भएका थिए ।