
बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंकले जेनजी आन्दोलनका क्रममा लुटिएको ग्राहकको सुन बराबरको रकम क्षतिपूर्ति स्वरूप दिने तयारी गरेको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवन नजिकको बैंक शाखाबाट आन्दोलनकारीहरूले करिब १८ केजी सुन र ३८ करोड रुपैयाँभन्दा बढी नगद लुटेका थिए ।
प्रहरीका अनुसार हालसम्म ३२ लाख रुपैयाँ बराबरको सम्पत्ति मात्र बरामद भएको छ । लुटिएका गरगहना ती ग्राहकका हुन्, जसले बैंकबाट ऋण लिँदा धरौटी (जमानत) स्वरूप सुन राखेका थिए ।
सुरक्षित कोठाभित्र रहेको भल्ट फोडेर सुनका गरगहना लुटिएको थियो । घटनापछि नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले तत्काल घटनास्थलको निरीक्षण गरेका थिए ।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा तीन जनालाई पक्राउ गरेको छ । तीमध्ये एक जनालाई अदालतले थुनामा पठाएको, अर्का एक जना अनुसन्धानमा रहेको, र तेस्रो जना नाबालक भएकाले तारेखमा छुटाइएको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ । प्रदर्शनका क्रममा बैंक र वरपरका सीसीटीभी क्यामेराहरू क्षतिग्रस्त भएकाले अनुसन्धानमा ढिलाइ भएको हो।
ग्राहकलाई क्षतिपूर्ति दिने तयारी
राष्ट्रिय वाणिज्य बैंकका अनुसार ग्राहकले धरौटीका रूपमा राखेका सुन र गरगहनाको बराबर रकम (नगद) दिने तयारी भइरहेको छ।
सुन नै दिन नसके पनि त्यस बराबरको नगद क्षतिपूर्ति दिने तयारी गरिएको हो । त्यसका लागि समिति गठन भइसकेको छ, र छिट्टै निर्णय गरेर रकम वितरण गरिने बैंकले जनाएको छ ।
बीमाबाट क्षतिपूर्ति
बैंकले आफ्ना भल्ट र लकरमा रहेका सबै गरगहनाको पूर्ण बीमा गरेको छ । त्यसअनुसार बैंकले बीमा दाबी गरिसकेको र सोही माध्यमबाट ग्राहकलाई क्षतिपूर्ति दिने योजना बनाएको छ ।




