Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मापदण्ड उल्लंघन गरेपछि लुम्बिनी विकास बैंक राष्ट्र बैंकको कारबाहीमा

२०८२ कार्तिक १३ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले तोकिएको मापदण्ड पूरा नगरेको भन्दै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लुम्बिनी विकास बैंकमाथि कारबाही गरेको छ। राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणपछि तयार गरिएको प्रतिवेदन अनुसार, बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई दोस्रो कार्यकालका लागि पुनर्नियुक्ति गर्ने क्रममा तोकिएको नियम उल्लंघन गरेको पाइएको हो।

प्रतिवेदनमा उल्लेख अनुसार, पुनर्नियुक्ति गर्दा तोकिएको मितिमा उल्लेख गरिएको सेवा सुविधा छोटो समयमै वृद्धि गरिएको र यसरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा ७ को व्यवस्था उल्लंघन भएको जनाइएको छ।

सो कारण राष्ट्र बैंकले लुम्बिनी विकास बैंकको तत्कालीन सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ को खण्ड (क) बमोजिम सचेत गराउने निर्णय गरेको हो।
राष्ट्र बैंकका अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले आगामी दिनमा यस्ता कार्य दोहोर्‍याए थप कडा नियामक कदम चालिने चेतावनी समेत दिइएको छ।