Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सरकारी बैंकका सिइओसँग बार्गेनिङ गर्ने रणनीति बनाएका थिए अर्जुन शाहीले !

२०८२ आश्विन २९ गते

बैंकिङ खबर/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगसहित विभिन्न सरकारी निकायमा पदाधिकारीहरूको राजीनामा माग गर्दै धम्की दिँदै आएका ‘जेनजी रिभोलुसन नेपाल’ का प्रतिनिधि अर्जुनबहादुर शाही पक्राउ परेका छन् ।
बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई कोटेश्वरबाट पक्राउ गरेको हो । शाहीमाथि चेक बाउन्स, वैदेशिक रोजगार ठगी र अन्य विभिन्न मुद्दा दर्ता भइसकेको प्रहरीले जनाएको छ ।

शाहीका गतिविधिहरू पछिल्लो समय व्यापक विवादमा आएका थिए । उनीसँगै केही अन्य जेनजी प्रतिनिधिहरूले पनि सरकारी निकायमा पुगेर पदाधिकारीहरूलाई दबाब दिने भिडियोहरू सार्वजनिक भएका थिए । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र अख्तियारका प्रमुख आयुक्त प्रेम राईसँगको भिडिओमा शाहीले उच्च स्वरमा राजीनामा माग्दै दबाब दिने प्रयास गरेका थिए । यसअघि उनी प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण समारोहमा पनि सहभागी भएका थिए ।

प्रहरीका अनुसार शाहीमाथि वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा दर्ता भइसकेको छ । उनी गत वैशाख २८ गते अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर वैदेशिक रोजगार विभागमा पठाएको थियो । शाहीले जापान पठाइदिने भन्दै ८ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको थियो । वैदेशिक रोजगार विभागका निर्देशक टिकराम ढकालका अनुसार शाहीले आफू बिरामी भएको भन्दै अस्पतालमा बस्ने र पछि मेलमिलाप गरेर जेठ २२ गते छुटेका थिए ।

चेक बाउन्सको मुद्दा

शाहीमाथि वैदेशिक रोजगार ठगीबाहेक काठमाडौंका विभिन्न प्रहरी वृत्तमा पनि चेक बाउन्ससम्बन्धी मुद्दा दर्ता भइसकेको छ । प्रहरी वृत्त महराजगन्ज, बौद्ध र स्वयम्भूमा दर्ता भएका मुद्दाहरूमा उनी फरार रहेका वा जिम्मा जमानीमा रहेका थिए । महाराजगन्जमा दर्ता भएको दुई मुद्दा १० लाख ३० हजार र दुई लाख रुपैयाँको चेक बाउन्ससम्बन्धी थिए । बौद्धमा सात लाख रुपैयाँ बराबरको चेक बाउन्स मुद्दा दर्ता भएको थियो भने स्वयम्भूमा १० लाख रुपैयाँको मुद्दा रहेको छ । शाही पञ्चदेव विनायक नगरपालिका–४ घर भई हाल काठमाडौं बस्दै आएका छन् । उनी आफैंलाई जेनजी रिभोलुसन नेपालको उपाध्यक्ष बताउँछन्। प्रहरी स्रोतका अनुसार उनीसँग थुप्रै मुद्दा दर्ता भएका छन्।

बैंकका सिइओसँग बार्गेनिङ गर्ने रणनीति

यसैबीच शाहीले सरकारी बैंकका सिइओसँग पनि बार्गेनिङ गर्ने योजना बनाएको थिए । यस क्रममा उनले बैंकका उच्च पदाधिकारीसँग सम्पर्क गरी रकम असुल्ने रणनीति समेत बनाएको स्रोतले बताएको छ । प्रहरीका अनुसार शाहीमाथि हालसम्म ४–५ वटा मुद्दा दर्ता भइसकेको छ । केही मुद्दामा फरार रहेका छन् भने केहीमा जिम्मा जमानी दिइएको छ । उनीमाथि थप उजुरी आउन सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई पक्राउ गरेपछि उनलाई अदालतमा पेश गर्ने तयारी भइरहेको छ। अदालतमा पेश भएपछि उनका विरुद्ध दर्ता भएका मुद्दाहरूको थप प्रक्रिया सुरु हुनेछ ।