
बैंकिङ खबर/ नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको सावा ब्याज भुक्तानीको समय सीमा थप्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ। महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा बुधबार राष्ट्र बैंक पुगेको टोलीले कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनासँग भेटेर समय सीमा थप्न अनुरोध गरेको हो।
महासंघले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा (असोज–मंसान्त) कर्जाको किस्ता बुझाउनुपर्ने समय नजिकिँदै गर्दा देशभरका आन्दोलन, विरोध प्रदर्शन, तोडफोड, अविरल वर्षा र बाढी–पहिरोले ऋणीहरूलाई किस्ता समयमै बुझाउन समस्या भएको जनाएको छ।
श्रेष्ठले महान चाड दसैंका कारण सार्वजनिक विदा लामो भएको र यसले ऋणीहरूलाई भुक्तानीमा कठिनाइ आएको पनि बताए। यसअघि महासंघका सदस्य संघ संस्थाहरूबाट समेत समय थपका लागि अनुरोध आएको थियो।
यस अवसरमा राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र तथा महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य, हेमराज ढकाल र कोषाध्यक्ष भरतराज आचार्य उपस्थित थिए।



