२०८२ भाद्र १६ गते

बचत, लगानी र अनुशासन : म्याडम वाकरको वित्तीय क्रान्ति

अमेरिकाको पहिलो स्वनिर्मित महिला करोडपति मानिने म्याडम सी. जे. वाकर केवल सौन्दर्य उत्पाद उद्यमी मात्र होइनन्, वित्तीय सशक्तिकरण र बैंकिङ प्रणालीप्रति चेतना फैलाउने महत्वपूर्ण व्यक्तित्व पनि थिइन्।

उनले अफ्रिकी–अमेरिकी समुदाय, विशेषगरी महिलालाई आर्थिक आत्मनिर्भरता, व्यवसायिक सोच र वित्तीय साक्षरताको बाटो देखाइन्।

रोजगारी र आम्दानी सिर्जना

वाकरले आफ्ना सौन्दर्य तथा कपालका उत्पादन विस्तार गर्ने क्रममा हजारौँ अफ्रिकी–अमेरिकी महिलालाई आफ्नो “सेल्स एजेन्ट” बनाएर रोजगारी दिइन्।

यसले महिलालाई नियमित आम्दानीको अवसर दियो। महिलाले बैंकमा खाता खोल्ने, आम्दानी–खर्च व्यवस्थापन गर्ने अभ्यास गरे। बैंकिङ प्रणालीमा अफ्रिकी–अमेरिकी महिलाको पहुँच बढ्यो।

वित्तीय अनुशासन र तालिम

उनले आफ्ना एजेन्टलाई मात्र उत्पादन बेच्न सिकाइनन्, बरु वित्तीय व्यवस्थापनसमेत तालिम दिइन्।

आम्दानी बचत गर्ने, ऋण नाघ्ने प्रवृत्ति नियन्त्रण गर्ने, घरधनीदेखि व्यवसायी बन्न सक्ने ज्ञान दिने।

यसले वित्तीय साक्षरताको आधार तयार गर्‍यो।

बैंकिङ प्रणालीमा पहुँच

त्यो समयमा अफ्रिकी–अमेरिकी समुदाय बैंकिङ प्रणालीबाट वञ्चित थिए। वाकरले काला समुदायले पनि व्यवसाय गरेर पूँजी जम्मा गर्न सक्छ भन्ने आफ्नो सफलताबाट प्रमाणित गरिन् । बैंकिङ प्रणालीमा प्रवेश गरेर आफ्ना सम्पत्ति सुरक्षित राख्न र लगानी गर्न सक्छ।

उनले आफ्ना एजेन्ट र कर्मचारीलाई बैंक खाता सञ्चालन गर्न प्रोत्साहित गरिन्, जसले वित्तीय प्रणालीमा उनीहरूको संलग्नता बढायो।

दान र संस्थागत लगानी

वाकरले सामाजिक कार्यका लागि ठूलो रकम दान गरिन्। उनले शैक्षिक संस्थामा लगानी गरिन्, जसले दीर्घकालीन वित्तीय शिक्षा फैलायो। काला समुदायका लागि मानव अधिकार र आर्थिक स्वतन्त्रताको आन्दोलनमा आर्थिक सहयोग गरिन्। यसले सामूहिक वित्तीय साक्षरता र सामाजिक, आर्थिक उत्थानलाई गति दियो।

उद्यमशीलताको प्रेरणा

वाकरको सफलता स्वयंमा वित्तीय साक्षरताको ज्वलन्त उदाहरण थियो। उनले आम्दानीलाई बचत र लगानीमा रूपान्तरण गर्न सकिन्छ भन्ने देखाइन् । आफ्नो श्रम र सीपलाई पूँजीमा परिणत गर्न सकिन्छ। वित्तीय अनुशासनले महिलालाई आर्थिक स्वतन्त्र र आत्मनिर्भर बनाउन सक्छ।

व्यक्तिगत जीवन र अन्तिम वर्ष

वाकर अत्यन्त व्यस्त जीवन जिएकी थिइन्। व्यवसाय, समाजसेवा र यात्रामा निरन्तर सक्रिय रहिन्। तर, स्वास्थ्य समस्याका कारण उनको जीवन छोट्याइयो।

सन् १९१९ मा ५१ वर्षको उमेरमा उच्च रक्तचाप (hypertension) का कारण उनको निधन भयो। तर, उनको योगदानले उनलाई मृत्यु पछि पनि अमर बनाएको छ।

उत्तराधिकार र प्रेरणा

म्याडम सी. जे. वाकरको जीवनकथा आज पनि उद्यमशीलता, महिला सशक्तिकरण र संघर्षमार्फत सफलता प्राप्त गर्ने प्रेरणाको स्रोत बनेको छ। उनी मात्र करोडपति उद्यमी थिइनन्, बरु हजारौँ महिलालाई आत्मनिर्भर बनाउने गुरु पनि थिइन्।

उनको नाममा अमेरिकामा “Madam Walker Legacy Center” स्थापना गरिएको छ। साथै, उनको जीवनकथा फिल्म, पुस्तक र टेलिभिजन सिरिजमार्फत पनि प्रसारित गरिएको छ।

म्याडम सी. जे. वाकरले सौन्दर्य उद्योगलाई मात्र नबदलि अफ्रिकी–अमेरिकी महिलाको जीवनशैलीलाई बैंकिङ प्रणालीसँग जोडिदिइन्। उनको उद्यमशीलता, वित्तीय अनुशासन, बचत–लगानीप्रतिको प्रोत्साहन र सामाजिक दानले वित्तीय साक्षरताको आधार निर्माण गर्‍यो।