Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

पछिल्लो एक वर्षमा ६४ अर्ब बराबरको वैदेशिक लगानी स्वीकृति

२०८२ श्रावण २ गते

बैंकिङ खबर/नेपालमा पछिल्लो एक वर्षको अवधिमा ६४ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृति दिइएको छ। उद्योग विभागको तथ्यांकअनुसार, २०८१ साउन १ देखि २०८२ असार ३२ गतेसम्मको अवधिमा ८४० नयाँ उद्योगले वैदेशिक लगानी स्वीकृति पाएका हुन्।

विभागले ५० करोड रुपैयाँसम्मको लगानीलाई अटोमेटिक रुट र सोभन्दा माथिको लगानीलाई म्यानुअल रुट मार्फत दर्ता गर्दै आएको छ। लगानी रकमको हिसाबले सेवा क्षेत्र सबैभन्दा आकर्षक देखिएको छ। कुल स्वीकृत लगानीमध्ये ४८ प्रतिशत सेवा क्षेत्रमा केन्द्रित छ भने पर्यटन क्षेत्रको हिस्सा ४१ प्रतिशत रहेको छ।

त्यसैगरी, उत्पादनमूलक क्षेत्रमा ६ प्रतिशत, सूचना प्रविधि क्षेत्रमा ३ प्रतिशत, र कृषि क्षेत्रमा २ प्रतिशत विदेशी लगानी स्वीकृति दिइएको छ।

तर, उद्योग संख्याको आधारमा भने सूचना प्रविधि क्षेत्र अगाडि रहेको छ। विभागका अनुसार, यो अवधिमा ३८२ वटा सूचना प्रविधिमूलक कम्पनीले वैदेशिक लगानीको स्वीकृति पाएका छन्। त्यसपछि पर्यटनसँग सम्बन्धित ३०४ कम्पनी, उत्पादनमूलक क्षेत्रमा ५५, सेवा क्षेत्रमा ८४, कृषि क्षेत्रमा १२, पूर्वाधार क्षेत्रमा २ र ऊर्जा क्षेत्रमा १ कम्पनी दर्ता भएका छन्।

२०८१/८२ आर्थिक वर्षमा मात्रै २ हजार २८५ जना वैदेशिक लगानीकर्ता व्यवसायिक भिसामा नेपाल आएका छन्। त्यस्तै, ४०८ जना कम्पनी प्रतिनिधि र ९१५ जना आश्रित (डिपेन्डेन्ट) भिसामा नेपाल प्रवेश गरेका छन्।

हालसम्म विभागले जम्मा ५ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृति दिइसकेको छ। ती लगानीले ७ हजार २३९ उद्योग दर्ता गराएका छन्। ती उद्योगहरूले पछिल्लो एक वर्षमा मात्र ९ अर्ब ६१ करोड रुपैयाँ रोयल्टी बापत विदेशी कम्पनीलाई भुक्तानी गरेका छन्।

सरकारले वैदेशिक लगानी आकर्षित गर्न लगानी प्रक्रिया सहज बनाउने प्रयास गरिरहेको छ भने निजी क्षेत्रले लगानीमैत्री वातावरणको माग गर्दै आएको छ।