२०८२ असार १७ गते

भारतीय बैंकिङ प्रणाली सुदृढ, नाफा र पूँजीको दर ऐतिहासिक: रिजर्भ बैंक

बैंकिङ खबर/  भारतीय रिजर्भ बैंकले सार्वजनिक गरेको आर्थिक स्थायित्व प्रतिवेदन (Financial Stability Report) मा भारतको बैंकिङ प्रणाली सुदृढ रहेको उल्लेख गरेको छ।

रिजर्भ बैंकका अनुसार बैंकहरूको पूँजी सञ्चिति दर (capital buffer) अहिलेसम्मकै उच्च स्तरमा पुगेको, गैरकृयाशील ऋण (NPA) दर विगत कै धेरै दशक यताकै न्यून रहेको र सञ्चालन कार्यसम्पादन (operational performance) समेत सुधारिएको देखिएको छ।

“विपरित आर्थिक अवस्थासमेत सामना गर्न सक्ने बैंकहरूको क्षमतामा कुनै कमजोरी देखिएको छैन। गैर बैंकिङ वित्तीय संस्थाहरू (NBFC) मा समेत परिसम्पत्ति गुणस्तरमा सुधार र पूँजी सञ्चिति बलियो देखिएको छ,” प्रतिवेदनमा भनिएको छ।

दुई वर्षमा पनि खराब कर्जा दर थोरै मात्र बढ्ने अनुमान

रिपोर्ट अनुसार भारतका ४६ वटा बैंकहरूको जम्मा खराब कर्जा अनुपात (gross bad loan ratio) सन् २०२५ को मार्चसम्ममा २.३% मा झरेको छ। यो दर सन् २०२७ को मार्चसम्ममा मात्र २.५% पुग्ने प्रक्षेपण गरिएको छ।

अर्थतन्त्र स्थिर रहँदा बैंकमा जोखिम कम

यदि भारतको आर्थिक वृद्धि दर यथावत् रह्यो भने, खराब कर्जा दर अझै कम नै रहने आरबीआईको ठम्याइ छ। सन् २०२६ र २०२७ मा भारतको आर्थिक वृद्धि क्रमशः ६.५% र ६.७% रहने प्रक्षेपण गरिएको छ।

वित्तीय क्षेत्रका संस्थाबीच आपसी सम्बन्ध विस्तार

रिजर्भ बैंकले वित्तीय क्षेत्रका विभिन्न संस्थाबीच आपसी लेनदेन र सम्पर्क (bilateral exposure) समेत दोहोरो अंकमा वृद्धि भइरहेको उल्लेख गर्दै वित्तीय प्रणालीको परस्पर निर्भरता बढिरहेको संकेत दिएको छ।

यस प्रतिवेदनले भारतको बैंकिङ प्रणाली हाल सुरक्षित र सन्तुलित अवस्थामा रहेको, र आगामी वर्षहरूमा पनि स्थायित्व कायम रहन सक्ने आश्वासन दिएको छ।