
बैंकिङ खबर/ नेपाल भित्रिने कुल रेमिट्यान्समध्ये आधाभन्दा बढी रकम आइएमई लिमिटेड र यससँग सम्बन्धित संस्थाहरूबाट औपचारिक माध्यम हुँदै आउने गरेको आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन्।
आइएमई लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएपछि अध्यक्ष ढकालले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार रेमिट्यान्स कारोबारमा आइएमईले प्राप्त गरेको यो स्थान विदेशमा रहेका नेपालीको विश्वाससँग जोडिएको छ।
ढकालले वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रकम सुरक्षित रूपमा परिवारसम्म पुर्याउने उद्देश्यले आइएमईको यात्रा सुरु भएको बताए। पछिल्लो समय कम्पनीले डिजिटल प्रविधिलाई प्राथमिकता दिँदै सेवा विस्तार गरिरहेको उनको भनाइ छ।
उनले ‘खल्ती बा आइएमई’ लगायतका डिजिटल प्लेटफर्ममार्फत रेमिट्यान्स तथा वित्तीय सेवा थप सहज र प्रविधिमैत्री बनाउने प्रयास भइरहेको बताए।
अध्यक्ष ढकालले रेमिट्यान्स क्षेत्रको विकासमा सहयोग गर्ने नेपाली श्रमिक, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, गैरआवासीय नेपाली, कर्मचारी तथा व्यावसायिक साझेदारप्रति आभार व्यक्त गरेका छन्।
उनले आगामी दिनमा वित्तीय पहुँच विस्तार गर्दै डिजिटल वित्तीय सेवाको विकासमा आइएमईले निरन्तर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।