
बैंकिङ खबर / करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको पहिलो पाक्षिक बम्पर उपहार सार्वजनिक भएको छ । १ देखि १५ असोजसम्म भएको कारोबारमध्ये पर्साका लालबाबु साह कानुको कारोबार १० लाख रुपैयाँको बम्पर उपहारका लागि छनोट भएको हो ।
साहले नेपाल पेट्रो ल्युब प्राइभेट लिमिटेडबाट २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा लिएको बिलमा आधारित कारोबार उपहारका लागि छनोट भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।
असोजको पहिलो १५ दिनको बम्पर उपहार शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकी सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्य गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा विजेता घोषणा गरेका थिए । विजेता साहलाई आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूषालले फोनमार्फत बधाई दिँदै पुरस्कार प्राप्त गर्न सम्बन्धित नजिकको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन् ।
विभागका अनुसार १ देखि १५ असोजसम्म करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन योग्य कारोबारको संख्या ३ करोड १८ लाख १८ हजार २८६ रहेको थियो । बिल लिएर गरिएको नगद कारोबारतर्फ २ लाख ४७ हजार ९७९ कारोबार उपहारका लागि योग्य थिए । त्यस्तै, अनलाइन तथा कार्डमार्फत भुक्तानी गरी वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताको ३ करोड १५ लाख ७० हजार ३०७ कारोबार कार्यक्रममा समावेश भएका थिए ।
कर प्रणालीमा बिल लिने तथा डिजिटल माध्यमबाट कारोबार गर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रमअन्तर्गत निश्चित अवधिमा बिलसहित भएको कारोबारलाई समेटेर विभिन्न तहका उपहार तथा पाक्षिक बम्पर पुरस्कार घोषणा गरिँदै आएको छ ।
असोज १ देखि १५ गतेसम्म दैनिक रूपमा प्रदान गरिने एक लाख रुपैयाँका उपहारका विजेताको विवरणसमेत विभागले सार्वजनिक गरेको छ ।