Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

बाढी प्रभावित बीमितको दाबी भुक्तानी सहज बनाउन प्राधिकरणको निर्देशन

२०८३ आश्विन १६ गते

बैंकिङ खबर/नेपाल बीमा प्राधिकरणले बाढीका कारण प्रभावित भएका बीमित तथा उनीहरूका हकवालालाई बीमा दाबी भुक्तानी लिन सहज हुने व्यवस्था गर्न जीवन बीमा तथा लघु जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ। गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित बीमितको अवस्थालाई ध्यानमा राख्दै प्राधिकरणले यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो। विपद्का कारण आवश्यक कागजात जुटाउन कठिनाइ हुन सक्ने भएकाले मृत्यु दाबी, बीमालेख समर्पण, बीमालेख कर्जा तथा परिपक्वता भुक्तानीमा आवश्यक प्रमाण र प्रक्रियालाई सरल बनाउन भनिएको छ। प्राधिकरणका अनुसार मृत्यु दाबीका लागि पेश गरिने निवेदनमा बीमितको नाम, मृत्यु भएको मिति र कारण, बीमालेख नम्बर तथा दाबीकर्तासँगको सम्बन्ध उल्लेख गर्नुपर्नेछ।

त्यस्तै, बीमित र दाबीकर्ताबीचको नाता पुष्टि हुने प्रमाण तथा दाबीकर्ताको पहिचान खुल्ने सरकारी कागजात पेश गर्न सकिनेछ। यसका लागि नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, राहदानी वा जग्गाधनी प्रमाण पुर्जामध्ये उपलब्ध कागजात प्रयोग गर्न सकिने प्राधिकरणले जनाएको छ।

बीमालेख बाढीका कारण नष्ट भएको अवस्थामा भने बीमा कम्पनीसँग सुरक्षित रहेको अभिलेखका आधारमा आवश्यक प्रक्रिया अघि बढाउन सकिने व्यवस्था गरिएको छ। यस व्यवस्थाले विपद्बाट प्रभावित बीमित तथा उनीहरूका हकवालालाई बीमा दाबी भुक्तानी प्राप्त गर्न आवश्यक प्रक्रिया पूरा गर्न सहज हुने अपेक्षा गरिएको छ।