Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्ताले संस्थापक सेयर पाउने

२०८३ आश्विन १६ गते

बैंकिङ खबर । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्ताले आफ्नो निक्षेप रकमबाटै संस्थापक सेयर खरिद गर्न पाउने भएका छन् । बैंक पुनः सञ्चालनको योजनाअन्तर्गत राष्ट्र बैंक व्यवस्थापन टोलीले निक्षेपकर्तालाई संस्थापक सेयर दिने प्रक्रिया अघि बढाएको हो ।

नेपाल धितोपत्र बोर्डको सुझावअनुसार निक्षेपकर्तालाई साधारण सेयरको सट्टा संस्थापक सेयर दिने तयारी गरिएको व्यवस्थापन संयोजक विष्णुकुमार विश्वकर्माले बताए । उनका अनुसार सेयर लिन इच्छुक निक्षेपकर्ताको खाताबाट रकम डेबिट गरी सोही रकमबाट संस्थापक सेयर खरिद गराउने योजना बनाइएको छ ।

बैंक व्यवस्थापनले सेयर निष्कासन तथा वितरणको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ । अन्तिम स्वीकृति प्राप्त भएपछि मात्रै सेयर वितरणको प्रक्रिया अघि बढ्नेछ ।

कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी व्यवस्थापन नियन्त्रणमा लिएपछि पुनः सञ्चालनका लागि विभिन्न योजना अघि बढाएको छ । बैंकका तत्कालीन संस्थापकको करिब २१ करोड रुपैयाँको सेयर घटाएर १ प्रतिशतमा सीमित गरिएको व्यवस्थापनले जनाएको छ । बैंकको खराब कर्जा असुली, वित्तीय अपचलनको अनुसन्धान तथा रणनीतिक लगानीकर्ता खोज्ने काम पनि अघि बढिरहेको छ । नयाँ लगानीकर्ता भित्रिएपछि संस्थापक र सर्वसाधारण सेयरको अनुपात ६०:४० कायम गर्ने राष्ट्र बैंकको योजना छ । बैंक पुनः सञ्चालनका लागि व्यवस्थापन टोलीले तयार पारेका विभिन्न योजना राष्ट्र बैंक सञ्चालक समितिमा पठाइएको जनाएको छ ।