Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बजारमा नक्कली नोटको विगविगी : कसरी छुट्याउने नक्कली नोट, टिप्सहरु !

२०८३ आश्विन १४ गते

बैंकिङ खबर । चाडबाड नजिकिएसँगै बजारमा नगद कारोबार बढ्न थालेपछि नक्कली नोटको जोखिम पनि बढ्न थालेको छ । विशेषगरी ५ सय र १ हजार रुपैयाँ दरका नक्कली नोट बजारमा देखिन थालेका छन् ।

दैनिक उपभोग्य वस्तु तथा अन्य सामान खरिद गर्दा फिर्ता आउने नगदमा नक्कली नोट मिसिने गरेका घटना देखिन थालेका छन् । त्यस्तै, डिजिटल माध्यमबाट भुक्तानी गरेपछि त्यसको बदलामा नगद लिने क्रममा समेत नक्कली नोट कारोबारमा प्रयोग हुने गरेको पाइएको छ ।

केही दिनअघि काठमाडौंको कपनस्थित एक कस्मेटिक पसलमा यस्तै घटना भएको छ । एक महिलाले पसलमा सामान खरिद नगरी अनलाइनमार्फत १ हजार रुपैयाँ भुक्तानी गरेकी थिइन् । त्यसपछि पसलबाट १ हजार रुपैयाँ नगद लिएर उनी बाहिरिएकी थिइन् ।

पसल सञ्चालकका अनुसार अनलाइन भुक्तानी वास्तविक भए पनि त्यसको बदलामा दिइएको नगदको स्रोतबारे तत्काल यकिन गर्न सकिएको थिएन । पछि उक्त नोट नक्कली हुन सक्ने आशंका भएपछि घटना बाहिर आएको हो । चाडबाडको समयमा बजारमा नगदको प्रयोग तुलनात्मक रूपमा बढ्ने भएकाले नक्कली नोट कारोबार गर्नेहरूले यही समयलाई लक्षित गर्ने गरेको पाइन्छ । दशैं, तिहारजस्ता ठूला पर्वमा किनमेल, यातायात, मनोरञ्जन तथा अन्य सेवामा नगद कारोबार बढ्ने भएकाले सर्वसाधारण तथा व्यवसायी दुवै नक्कली नोटको जोखिममा पर्न सक्छन् ।

नक्कली नोटको कारोबार रोक्न नेपाल राष्ट्र बैंकले नोटका सुरक्षा विशेषता पहिचान गर्न पटक–पटक सचेत गराउँदै आएको छ । नोट कारोबार गर्दा नोटको कागज, छपाइ, पानीछाप, सुरक्षा धागो तथा अन्य सुरक्षात्मक विशेषता जाँच गर्नुपर्ने हुन्छ ।

विशेषगरी ठूलो दरका नोट लिँदा व्यवसायीले हतार नगरी नोट परीक्षण गर्नुपर्ने देखिन्छ । डिजिटल भुक्तानीपछि नगद साट्ने अवस्थामा पनि नगदको वैधता जाँच नगरी कारोबार गर्दा जोखिम हुन सक्छ । नक्कली नोट भेटिएमा त्यसलाई पुनः बजारमा चलाउनु कानुनी रूपमा समेत जोखिमपूर्ण हुन्छ । त्यसैले शंका लागेको नोटलाई अर्को व्यक्तिलाई दिएर कारोबार गर्नुको सट्टा सम्बन्धित बैंक तथा निकायलाई जानकारी गराउनुपर्ने हुन्छ ।

चाडबाडको किनमेल सुरु भएसँगै बजारमा नगद कारोबार बढ्दै जाँदा नक्कली नोटको जोखिमप्रति सचेत हुनुपर्ने अवस्था देखिएको छ । विशेषगरी व्यवसायीले ग्राहकबाट प्राप्त हुने ५ सय र १ हजार रुपैयाँका नोट जाँच गरेर मात्र स्वीकार गर्दा सम्भावित क्षति कम गर्न सकिन्छ ।

नक्कली नोट छुट्याउने सजिला तरिका

१. पानीछाप हेर्नुहोस्

नोटलाई उज्यालो वा प्रकाशतर्फ फर्काएर हेर्दा नोटमा रहेको राजा जनकको चित्रसहितको पानीछाप देखिन्छ । पानीछाप नोटभित्रै रहेको जस्तो देखिनुपर्छ, छुट्टै छापिएको जस्तो होइन ।

२. सुरक्षा धागो जाँच गर्नुहोस्

नोटमा रहेको सुरक्षा धागो प्रकाशमा हेर्दा स्पष्ट देखिनुपर्छ । नक्कली नोटमा धागोको स्वरूप, स्थान वा छपाइ फरक हुन सक्छ ।

३. नोट छाम्नुहोस्

सक्कली नोटमा केही अक्षर, अंक तथा विशेष चिह्नहरू उठेको छपाइ (intaglio printing) का कारण छाम्दा फरक महसुस हुन्छ । अत्यधिक चिल्लो वा साधारण कागजजस्तो लागेमा थप जाँच गर्नुपर्छ ।

४. नोटको छपाइ र रंग हेर्नुहोस्

सक्कली नोटमा अक्षर, अंक, चित्र र रेखाहरू स्पष्ट तथा सन्तुलित हुन्छन् । रंग फिक्का, अत्यधिक गाढा, धमिलो वा चित्रको विवरण अस्वाभाविक देखिएमा सावधान हुनुपर्छ ।

५. प्रकाशमा हेर्नुहोस्

नोटलाई उज्यालोतर्फ राखेर हेर्दा विभिन्न सुरक्षा विशेषता एकैपटक जाँच गर्न सकिन्छ । विशेषगरी पानीछाप र सुरक्षा धागो स्पष्ट देखिनुपर्छ ।

६. अंक र डिजाइन मिलाउनुहोस्

नोटको अगाडि–पछाडिको दर अंक, चित्र, अक्षर तथा डिजाइन ध्यानपूर्वक हेर्नुहोस् । बजारमा चलिरहेको वास्तविक नोटसँग तुलना गर्दा अस्वाभाविक फरक सजिलै पत्ता लाग्न सक्छ ।