Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एटीएमबाटै १०० रुपैयाँका नोट, चाडपर्वमा खुद्रा पैसाको झन्झट घट्ने

२०८३ आश्विन १५ गते

बैंकिङ खबर / दशैं, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिएसँगै बैंक तथा वित्तीय संस्थाहरूले एटीएमबाटै १०० रुपैयाँ दरका नोट उपलब्ध गराउने तयारी थालेका छन्। नेपाल राष्ट्र बैंकको आग्रहपछि केही बैंकले आफ्ना निश्चित एटीएममा साना दरका नोट राख्न सुरु गरेका हुन् ।

सामान्यतया एटीएमबाट ५०० र १ हजार रुपैयाँ दरका नोट मात्रै निकाल्न सकिने अवस्था रहे पनि अब सीमित स्थानका एटीएममा १०० रुपैयाँका नोटसमेत उपलब्ध हुन थालेका छन्। विशेषगरी काठमाडौं उपत्यकाका व्यस्त तथा प्रमुख स्थानमा रहेका केही एटीएममा यस्तो सुविधा सुरु गरिएको हो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मुद्रा व्यवस्थापन विभागका प्रमुख अनुज दाहालका अनुसार विद्यार्थी तथा सर्वसाधारणलाई सानो रकम आवश्यक पर्दा सहज होस् भन्ने उद्देश्यले बैंकहरूलाई एटीएममा १०० रुपैयाँका नोट राख्न आग्रह गरिएको हो। उनका अनुसार सिंहदरबार, न्युरोडलगायत केही स्थानका एटीएमबाट १०० रुपैयाँ दरका नोट निकाल्न सकिने व्यवस्था भइसकेको छ।

बैंकहरूले उपलब्ध गराएको जानकारीअनुसार उनीहरूले सञ्चालनमा रहेका कुल एटीएममध्ये करिब १५ देखि २५ प्रतिशत मेसिनमा १०० रुपैयाँका नोट राख्न सक्ने बताएका छन् ।

चाडपर्वको समयमा साना दरका नोटको माग उल्लेख्य रूपमा बढ्ने गर्छ। खुद्रा रकम आवश्यक पर्ने सर्वसाधारण बैंकका काउन्टरमा नोट साट्न पुग्दा भीडसमेत बढ्ने गरेको छ। यही समस्या कम गर्ने उद्देश्यले राष्ट्र बैंकले बैंकर्स संघमार्फत एटीएममा समेत साना दरका नोटको व्यवस्था गर्न बैंकहरूलाई आग्रह गरेको हो।

सबै एटीएममा तत्काल सम्भव छैन

यद्यपि, हाल सञ्चालनमा रहेका सबै एटीएमबाट १०० रुपैयाँका नोट निकाल्न सकिने अवस्था भने छैन। पुरानो प्रविधिका अधिकांश एटीएममा दुईवटा मात्रै क्यासेट हुने भएकाले ती मेसिनमा १ हजार र ५०० रुपैयाँका नोट राखिसकेपछि थप रूपमा १०० रुपैयाँका नोट राख्न प्राविधिक कठिनाइ हुने बैंकहरूको भनाइ छ ।

नयाँ प्रविधिमा आधारित एटीएममा भने तीनदेखि चारवटासम्म क्यासेट राख्न मिल्ने भएकाले अतिरिक्त क्यासेटमा १०० रुपैयाँका नोट राख्न सकिन्छ । बैंकिङ क्षेत्रमा उपलब्ध जानकारीअनुसार नेपालमा सञ्चालनमा रहेका कुल एटीएममध्ये करिब २५ प्रतिशत नयाँ प्रविधिका छन्। ती एटीएममा भने १०० रुपैयाँका नोट राखेर वितरण गर्न तुलनात्मक रूपमा सहज हुने बताइएको छ ।

एटीएमबाटै साना दरका नोट निकाल्न सकिने सुविधा विस्तार भएमा थोरै रकम आवश्यक पर्ने विद्यार्थी, खुद्रा रकम चाहिने ग्राहक तथा अन्य सर्वसाधारणलाई बैंकको काउन्टरसम्म पुग्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। साथै, चाडपर्वको समयमा बैंक काउन्टरमा हुने खुद्रा नोट साट्ने भीड व्यवस्थापनमा समेत यसले सहयोग पुग्ने देखिन्छ ।