
बैंकिङ खबर/ कोभिड-१९ महामारी र भूराजनीतिक तनावका कारण शिथिल बनेको विश्व अर्थतन्त्रमा सुधारका संकेतहरु
देखिएतापनि पछिल्लो समय ठूला अर्थतन्त्रहरुको व्यापारिक द्वन्द्वका कारण केही अनिश्चितता देखापरेका छन् । संयुक्त राज्य अमेरिकाको परिवर्तित वैदेशिक व्यापार र सहयोग नीतिले विश्व अर्थतन्त्रमा प्रभाव पर्न सक्ने देखिन्छ ।
तथापि, पछिल्ला दिनहरुमा संयुक्त राज्य अमेरिका र त्यसका व्यापारिक साझेदारहरुबीच द्विपक्षीय व्यापार सम्झौता हुँदै गएकाले अन्तर्राष्ट्रिय व्यापारमा देखिएको अनिश्चितता क्रमशः हट्दै जाने अनुमान छ ।
विश्वको आर्थिक वृद्धिदर सन् २०२४ मा ३.३ प्रतिशत रहेकोमा सन् २०२५ मा २.८ प्रतिशतमा खुम्चने प्रक्षेपण रहेको छ । पछिल्लो समय विकसित व्यापार नीति र भन्सार महशुलका कारण अन्तर्राष्ट्रिय मुद्रा कोषले २०२५ जनवरीको तुलनामा
२०२५ अप्रिलको आर्थिक वृद्धिकोप्रक्षेपण ०.५ प्रतिशत बिन्दुले घटाएको छ । सन्२०२४ मा १.८ प्रतिशतले विस्तार भएको विकसित अर्थतन्त्र सन्२०२५ मा १.४ प्रतिशतले विस्तार हुने
कोषको प्रक्षेपण छ । त्यसैगरी, सन् २०२४ मा ४.३ प्रतिशतले विस्तार भएको उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको वृद्धिदर सन्२०२५ मा ३.७ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण छ ।
सन्२०२४ मा भारत र चीनको अर्थतन्त्र क्रमशः ६.५ प्रतिशत र ५.० प्रतिशतले विस्तार भएकोमा सन्२०२५ मा क्रमशः ६.२ प्रतिशत र ४.० प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण छ । सन् २०२४ मा ५.७ प्रतिशत रहेको विश्वको उपभोक्ता मुद्रास्फीति सन्२०२५ मा ४.३ प्रतिशत रहने प्रक्षेपण कोषले गरेको छ ।
विकसित अर्थतन्त्रको मुद्रास्फीति सन् २०२४ मा २.६ प्रतिशत रहेकोमा सन् २०२५ मा २.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण छ । उदीयमान तथा विकासशील अर्थतन्त्रको मुद्रास्फीति सन्२०२४ मा ७.७ प्रतिशत रहेकोमा सन्२०२५ मा ५.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण छ । यद्यपि, संयुक्त राज्य अमेरिकाले विश्वका अधिकांश देशका लागि घोषणा गरेको नयाँ भन्सार दरले मुद्रास्फीतिमा दवाव पर्ने कोषको विश्लेषण छ ।
पछिल्ला महिनाहरुमा मुद्रास्फीति कम हुन थालेसँगै विश्वका अधिकांश मुलुकहरुले मौद्रिक नीतिको कार्यदिशालाई सहज बनाउँदै लगेका छन्। युरोपियन केन्द्रीय बैंकले निक्षेप सुविधा दरलाई सन्२०२५ अप्रिलमा थप २५ आधार बिन्दुले कटौती गरी २.२५ प्रतिशत कायम गरेको छ ।
भारतीय रिजर्भ बैंकले सन् २०२३ फेब्रुअरीदेखि ६.५ प्रतिशतमा स्थिर राख्दै आएको नीतिगत दरलाई सन्२०२५ फेब्रुअरीमा २५ आधार बिन्दुले कटौती गरी ६.२५ प्रतिशत कायम गरेकोमा सन्२०२५ अप्रिलमा थप २५ आधार बिन्दुले घटाई ६ प्रतिशतमा राखेको छ ।
तर, अमेरिकी फेडरल रिजर्भले भने फेडरल फण्ड्स रेटलाई सन् २०२४ डिसेम्बरमा घटाएर ४.२५–४.५० प्रतिशत कायम गरेकोमा सोही दरलाई सन् २०२५ मेको बैठकबाट समेत निरन्तरता दिएको छ । आर्थिक अनिश्चितता र बजार अस्थिरता बढेका कारण मुद्रास्फीति माथिको जोखिम उच्च रहेकोले नीतिगत दर यथावत्राखेको फेडरल रिजर्भले जनाएको छ ।




