Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

चीनमा १६ महिनादेखि ब्याजदर स्थिर, कर्जा माग सुस्त

२०८३ आश्विन ४ गते

बैंकिङ खबर  /  चीनले बैंक कर्जाको प्रमुख ब्याजदर लगातार १६औँ महिनासम्म यथावत् राखेको छ । पिपुल्स बैंक अफ चाइना (पीबीओसी) ले सेप्टेम्बरका लागि १ वर्षे लोन प्राइम रेट (एलपीआर) ३ प्रतिशत र ५ वर्षे एलपीआर ३.५० प्रतिशतमा कायम राखेको हो ।

ब्याजदर स्थिर रहे पनि चीनमा कर्जाको माग भने कमजोर देखिएको छ । अगस्टमा चिनियाँ बैंकहरूले ६० अर्ब युआन मात्रै नयाँ युआन कर्जा प्रवाह गरेका छन् । यो बजारले अपेक्षा गरेको ४०० अर्ब युआनभन्दा निकै कम हो । गत वर्षको अगस्टमा नयाँ कर्जा प्रवाह ५९० अर्ब युआन रहेको थियो ।

यस वर्ष जनवरीदेखि अगस्टसम्म बैंकहरूको नयाँ युआन कर्जा प्रवाह १०.४४ ट्रिलियन युआन पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो १३.४६ ट्रिलियन युआन थियो ।

घरजग्गा बजारमा देखिएको कमजोरी र घरपरिवारको ऋण मागमा आएको कमीले समग्र कर्जा विस्तारलाई प्रभावित गरेको विश्लेषण गरिएको छ । अगस्टमा घरपरिवारको कर्जा लगातार छैटौँ महिनामा घटेको थियो ।

चीनको पछिल्लो अवस्थाले ब्याजदर कम राख्दैमा कर्जाको माग बढ्न नसक्ने देखाएको छ । आर्थिक गतिविधि, उपभोग र लगानीमा सुधार नआए बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए पनि कर्जा विस्तार कमजोर रहन सक्ने देखिएको हो ।