Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्राइम बैंकको नाफा घट्यो, खराब कर्जा ७.१५ प्रतिशत पुग्यो

२०८३ कार्तिक १६ गते

बैंकिङ खबर / प्राइम कमर्सियल बैंकको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय नतिजामा नाफा घटेको छ । बैंकले समीक्षा अवधिमा १ अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब २६ करोड रुपैयाँ थियो । यसअनुसार बैंकको खुद नाफा ५.६२ प्रतिशतले घटेको हो ।

बैंकको खुद ब्याज आम्दानी भने बढेको छ । पहिलो त्रैमासमा यस्तो आम्दानी ८.२४ प्रतिशतले वृद्धि भई २ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । तर कर्मचारी खर्च र कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम बढेपछि ब्याज आम्दानीमा भएको सुधारले नाफा बढाउन सकेन ।

समीक्षा अवधिमा बैंकको कर्मचारी खर्च १२.९७ प्रतिशतले बढेर ७६ करोड ३६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा नोक्सानी व्यवस्थाका लागि ६१ करोड ७१ लाख रुपैयाँ छुट्याइएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८.३० प्रतिशत बढी हो । यी खर्च बढेसँगै बैंकको सञ्चालन नाफा पनि ५.४८ प्रतिशतले घटेर १ अर्ब ९६ करोड रुपैयाँमा सीमित भएको छ ।

बैंकको वित्तीय विवरणमा खराब कर्जाको अनुपातमा भएको वृद्धि पनि देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५.८६ प्रतिशत रहेको निष्क्रिय कर्जा (एनपीएल) अनुपात चालु आर्थिक वर्षको असोज मसान्तमा ७.१५ प्रतिशत पुगेको छ । अर्थात्, एक वर्षको अवधिमा खराब कर्जा अनुपात १.२९ प्रतिशत बिन्दुले बढेको हो ।

यस अवधिमा बैंकको निक्षेप संकलन सामान्य घटेको छ । निक्षेप ०.७५ प्रतिशतले घटेर २ खर्ब ७६ अर्ब रुपैयाँ कायम हुँदा कर्जा तथा सापटी ३.९० प्रतिशतले बढेर २ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ । बैंकको कोषको लागत भने ४.७९ प्रतिशतबाट घटेर ३.८१ प्रतिशतमा झरेको छ ।

नाफामा आएको गिरावटसँगै बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । अघिल्लो वर्ष २४ रुपैयाँ २ पैसा रहेको ईपीएस समीक्षा अवधिमा २२ रुपैयाँ ६७ पैसामा सीमित भएको छ । यद्यपि, प्रतिसेयर नेटवर्थ २.९० प्रतिशतले बढेर १८० रुपैयाँ ९० पैसा पुगेको छ ।

बैंकको चुक्ता पुँजी २० अर्ब ९५ करोड रुपैयाँ कायम छ । समीक्षा अवधिमा जगेडा कोष ६.८८ प्रतिशतले बढेर १४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ भने सञ्चित नाफा ५.६८ प्रतिशतले वृद्धि भई २ अर्ब १ करोड रुपैयाँ कायम भएको छ ।

नियामकीय समायोजनपछि बैंकको वितरणयोग्य नाफा २ अर्ब ५ करोड रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ । बैंकको पुँजी पर्याप्तता अनुपात १२.४२ प्रतिशत कायम भएको छ ।

Ad