
बैंकिङ खबर / नबिल बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.४ प्रतिशत बढी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ७५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार सहायक कम्पनीसमेत समेटिएको नबिल समूहको खुद नाफा ६०.६ प्रतिशतले बढेर २ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा ब्याज खर्च घट्दा बैंकको खुद ब्याज आम्दानीमा वृद्धि भएको छ । बैंकको ब्याज खर्च १७.४ प्रतिशतले घटेको छ भने खुद ब्याज आम्दानी २१.४ प्रतिशतले बढेर ४ अर्ब ७३ करोड ७० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कुल सञ्चालन आम्दानी १६.४ प्रतिशतले वृद्धि भई ६ अर्ब १३ करोड ६५ लाख रुपैयाँ कायम भएको छ ।
बैंकको नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम घट्नुले पनि योगदान गरेको देखिन्छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६४ करोड ७२ लाख रुपैयाँ छुट्याएको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो व्यवस्थाका लागि १६ करोड ४० लाख रुपैयाँ मात्रै छुट्याएको छ । यस अवधिमा बैंकको खराब कर्जा अनुपात ४.३१ प्रतिशतबाट घटेर ४.०६ प्रतिशतमा झरेको छ ।
असोज मसान्तसम्म बैंकको निक्षेप ६ खर्ब १९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४ खर्ब ७६ अर्ब १ करोड रुपैयाँ रहेको छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) पनि २५ रुपैयाँ ४९ पैसाबाट बढेर ३३ रुपैयाँ ८९ पैसा पुगेको छ ।
यद्यपि, नाफा र आम्दानीमा सुधार देखिए पनि बैंकको पुँजी पर्याप्तता सूचकमा भने दबाब देखिएको छ । बैंकको पुँजीकोष अनुपात १२.६७ प्रतिशतबाट घटेर ११.६७ प्रतिशतमा सीमित भएको छ । त्यस्तै, मुख्य पुँजी (सीईटी–१) अनुपात पनि ९.५५ प्रतिशतबाट घटेर ८.३२ प्रतिशतमा झरेको छ ।
राष्ट्र बैंकको नियामकीय व्यवस्था तथा अघिल्लो वर्षको सञ्चित नाफासमेत समायोजन गर्दा बैंकको कुल वितरणयोग्य मुनाफा २ अर्ब २६ करोड ४६ लाख रुपैयाँ पुगेको छ । प्रतिसेयर वितरणयोग्य नाफा २२ रुपैयाँ ८ पैसा रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ ।
बैंकले आर्थिक सुस्तता, कर्जाको कमजोर माग, खराब कर्जा व्यवस्थापन, अधिक तरलता, न्यून सरकारी पुँजीगत खर्च तथा साइबर सुरक्षासम्बन्धी जोखिमलाई आगामी दिनका प्रमुख चुनौतीका रूपमा औँल्याएको छ ।